ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड २३ लाख ६४ हजार ५ सय ३१ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाको १४औँ गाउँसभामा गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीले नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
जसअन्तर्गत क्षेत्रगत रुपमा कृषि, पशुपन्छी तथा सहकारीमा १ करोड ६० लाख ५३ हजार, पर्यटनमा ४३ लाख, उर्जाबिकासमा ८ लाख, गरिवि तथा बेरोजगारीमा ९९ लाख ६० हजार, लैंगिक समनता तथा सामाजिक समावेशीकरणमा १६ लाख ७५ हजार, शिक्षा, युवा तथा खेलकुदमा १४ करोड २ लाख ५० हजार, स्वास्थ्यमा ४ करोड ४३ लाख १२ हजार, पूर्वाधार विकास खानेपानी तथा साना सिचाईमा १३ करोड ५४ लाख ५३ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा २० लाख, सुशासन, कार्यालय सञ्चालन तथा प्रशासनीक खर्चमा ६ करोड ७५ लाख ६१ हजार ५ सय बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा स्थानीय तह भित्रको शिक्षा, स्वास्थ्य, आवास र रोजगारी जस्ता आधारभुत मानवीय आवश्यकताहरुको परिपुर्ति गर्ने क्षेत्रहरुको विकास र प्रवर्धन गर्ने, उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलस्रोत तथा उद्योग लगायतका क्षेत्रमा पुँजी विकास परिचालन गर्ने, भौतिक सामाजिक पुर्वाधारहरुको विकास गरि सडक विस्तार जलविद्युत जस्ता क्षेत्रहरुको निर्माण, विकास र विस्तार, विपद् महामारीलाई मध्यनजर गरि त्यस बाट पर्ने असरलाई न्यूनिकरण गर्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकम उपयोग गरि महिला बालबालिका, पिछडिएका क्षेत्र, समूदायलाई लैंङगिक समानता तथा सामाजिक समावेशीकरण, दिगो विकास वातावरण संरक्षण तथा सम्बर्धन गर्न भाषिक तथा सामाजिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउनेजस्ता विषय समेटिएको छ ।
यस्तै उत्पादन मूलक छिटो प्रतिफल दिने जनताको जीबन स्तर आम्दानी तथा रोजगारी बढ्ने स्थानीय सहभागिता जुट्ने, स्वंयसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने आर्थिक विकास, गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, स्थानीय सरकारको आधार सुशासन नैतिक र सदाचार भन्ने अभिप्रायका साथ आम नागरिकलाई गुणस्तरिय, परिणाममुखि, छिटो छरितो सेवा प्रदान गर्ने, प्राकृतिक प्रकोपको न्युनिकरण, पर्यावरणीय संरक्षण र हरियाली प्रवर्धन गर्नेलगायतका विषय पनि प्राथमिकतासाथ नीति तथा कार्यक्रममा राखिएको छ ।