ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले ४२ करोड ५५ लाख १३ हजार एक सय रुपैयाँको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघको वित्तीय समानीकरण अनुदान ७ करोड ७७ लाख, प्रदेशको वित्तीय समानीरकण अनुदान ४५ लाख ५० हजार, संघको राजस्व बाँडफाँडको ७ करोड २४ लाख ६७ हजार एक सय, प्रदेशको राजस्व बाँडफाँडको २२ लाख ३४ हजार रुपैयाँलाई पूर्ण बजेटमा समाबेश गरिएको बजेट ल्याएको हो ।
गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापाद्वारा प्रस्तुत बजेटमा संघीय सर्शत अनुदान २२ करोड ९४ लाख र प्रदेश सर्शत अनुदान ८२ लाख १२ हजार, संघीय विशेष अनुदान एक करोड, संघीय समपुरक अनुदान ८० लाख, प्रदेश समपुरक अनुदान ९७ लाख ५० हजार र आन्तरिक आम्दानीको ३२ लाख समाबेश छ ।
गाउँपालिका अध्यक्ष शर्माले आगामी आर्थिक वर्ष समृद्धिका सकारात्मक नीतिहरु आत्मसाथ गरिएको बताउनुभयो । ‘युवालाई विदेश हैन्, बिजनेस’, ‘बहिष्करणमा परेका वर्गलाई उत्थानशील कार्यक्रम’, ‘हिंसामुक्त पालिका, हाम्रो पहिचान’, ‘रैथाने कृषि बालीको संरक्षण’, ‘महिला उद्यमीलाई कर छुट’, ‘निशुल्क एम्बुलेन्स सेवा’, ‘नीजि तथा गैरसरकारी संस्थासँग सहकार्य’को नीति आत्मसाथ गरेको उहाँले बताउनुभयो ।
त्यस्तै, ‘सीमान्तकृतहरुको निशुल्क बीमा’, ‘किसान परिचय पत्र’, ‘भगेनी सम्बन्ध विस्तार’, ‘सूचनामैत्री पालिका’, ‘स्थानीय कानुन संग्रह प्रकाशन’, ‘बाल कक्षा शिक्षक प्रोत्साहन’ लगायतका दर्जनौ नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष शर्माको भनाइ छ । अध्यक्ष निशान्त शर्माले नीति तथा कार्यक्रम र उपाध्यक्ष सन्तोष बाबु थापाले पेश गरेको बार्षिक बजेट १३ औँ गाउँ सभाले पारित गरेको छ ।