ओखलढुंगा । जिल्लाको सुनकोसी गाउँपालिकाको आगामी आर्थिक वर्षको अनुमानित बजेट ६० करोड ७१ लाख रुपैयाँ पेश भएको छ । हिजो भएको गाउँसभामा उक्त बजेट पेश भएको हो ।
जस अनुसार कार्यलय सञ्चालन (वडा कार्यालय समेत गरी) तर्फ ८ करोड, विगतका कार्यक्रमलाई निरन्तरतातर्फ १ करोड ८६ लाख, साझेदारी कोषतर्फ, ५ करोड ५० लाख, शाखागत कार्यक्रमतर्फ, ७६ लाख, वडागत कार्यक्रमतर्फ १ करोड ५० लाख, गाउँपालिकास्तरीय कार्यक्रमतर्फ १ करोड, शसर्त अनुदान संघतर्फ २३ करोड ५९ लाख, विशेष अनुदान संघतर्फ ७५ लाख, प्रदेश सरकार समपुरक अनुदानतर्फ १ करोड, संघीय सरकार समपुरकतर्फ ५० लाख, प्रदेश सरकार सशर्त तर्फ १ करोड २४ लाख, सामाजिक सुरक्षा भत्तातर्फ १५ करोड विनियोजन गरिएको हो ।
बजेटले कृषि क्षेत्रमा व्यवसायिकीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, आर्थिक वृद्धिलाई उच्च दरमा उकाल्दै गाउँवासीको जीवनस्तरमा देख्न सकिने र अनुभूति गर्न सकिने सुधार ल्याउन मानवीय पूँजी विकास र उत्पादन सहयोगी भौतिक पूर्वधारको विकास गर्दै समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउने तथा दीगो आर्थिक विकास गर्ने, पर्यटनमैत्री पूर्वाधार विकास गरी पर्यटन उद्योगलाई विस्तार गर्ने एवं लगानि, रोजगारी तथा अन्य आयआर्जनको आकर्षक गन्तव्यको रुपमा पर्यटनलाई प्रबर्द्धन गर्ने, आधारभूत पूर्वाधारको निर्माण र विकास गरी गाउँ सरकार र आधारभूत सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने, स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार गर्ने, गुणस्तरीय र भरपर्दो खानेपानीको सुविधाको विस्तार गर्दै एक घर एक धारोको व्यवस्था गर्ने, वातावरण सन्तुलन तथा विपद् व्यवस्थापनलाई अन्तर आबद्धताको विषयको रुपमा विकास गर्ने, समावेशी र सन्तुलित विकासलाई प्रबर्द्धन गर्ने, लैंगिकमैत्री समावेशी विकासमा जोड दिनेलगायका विषय बजेटमा समावेश गरिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष कमल तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सुनिता अधिकारीले बजेट प्रस्तुत गर्नुभएको थियो ।