ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ओखलढुंगाका प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवार कोशी प्रदेशको मन्त्री बनेका छन् । उनले आजै पद तथा गोपनियताको सपथ खाएर कार्यभार समेत सम्हालेका छन् ।
सुनुवारसँगै नेकपा एकीकृत समाजवादीबाट कलमप्रसाद जबेगू पनि मन्त्री नियुक्त भएका छन् ।
को हुन् प्रदीपकुमार सुनुवार ?
खिजिदेम्बा गाउँपालिका ५, खिजिफलाँटेका प्रदीपकुमार सुनुवार २०२७ वैशाख १७ बुवा शान्त बहादुर र आमा फूलमाया सुनुवारको जेठो छोरोको रूपमा जन्मिएका हुन् । उनी २०३९ सालमा अखिलको विद्यार्थीबाट राजनीतिमा आबद्ध भएका थिए । २०४२ मा भने सुनुवार नेपाल विद्यार्थी सङ्घ दोलखाको जिरीमा इकाई कमिटीमा रही काम गरे । २०४३ सालमा काँग्रेस निकट युवक सङ्गठनको गाउँ सभापति बनेका प्रदीप ४८ मा काँग्रेसको क्षेत्रीय समिति सदस्य समेत भए ।
२०४९ मा प्रदीपले नेपाली काँग्रेसको जिल्ला सदस्य हुने मौका पाए । उनी नवौँ महाधिवेशन २०५२ देखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधिको रूपमा पार्टीमा निर्वाचित पनि हुँदै आए । २०५१ सालमा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएका उनी २०५४ मा खिजिफलाँटे गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए ।
पार्टीको नवौँ महाधिवेशनबाट जिल्ला समितिको सहसचिव, १० औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका प्रदीप पार्टी विभाजन भई काँग्रेस प्रजातान्त्रिक भएपछि पार्टीको जिल्ला उपसभापति बन्न पुगे । पार्टी एकीकरण भए पछि पुनः उनी जिल्ला उपसभापति भए । २०६२/०६३ को जनआन्दोलनमा तरुण दलको अञ्चल संयोजक भई आन्दोलनमा सहभागी हुँदा पटक पटक पक्राउ परि हिरासतमा समेत परेका उनी पार्टी विभाजनदेखि नै देउवा समूहमा छन् । ११ औँ र १२ औँ महाधिवेशनबाट पनि प्रदीप दुई पटक जिल्ला सभापति बन्ने अवसर पाए । र १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।
२०७४ को निर्वाचनमा प्रदेशसभा २ बाट उम्मेदवार बने पनि बागी उम्मेदवारका कारण पराजित भएका थिए । २०७९ सालको निर्वाचनमा भने प्रदेशसभा सदस्य पदमा उनले जित हात पारेका थिए ।