ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयका पूर्व प्रमुख डम्बरबहादुर रजन मगर र वर्तमान प्रमुख पेशलबहादुर विश्वकर्मा विवादमा तानिएका छन् । खिजीदेम्बा गाउँपालिकाका अध्यक्षविरुद्ध परेको रिटमा अदालतले निवेदन र कुनै निर्णय भए सो को प्रमाणित प्रतिलिपि झिकाउन साउन ३१ गते आदेश दिएको भोलिपल्ट भेटको विषयलाई लिएर उनीहरु विवादमा तानिएका हुन् ।
पूर्व प्रमुख रहेका रजन मगर अहिले खिजीदेम्बा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका छन् । उनी इलाका प्रशासन कार्यालयमा कार्यरत हुँदा गम्बु शेर्पाले नागरिकताको प्रतिलिपि झिकेको स्रोतबाट प्राप्त डकुमेन्टमा देखिन्छ । अदालतको आदेश आएको भोलिपल्टै ओखलढुंगा सदरमुकाममा रहेका रजनमगर खिजीदेम्बा गाउँपालिकाको केन्द्र खिजीफलाटे पुगेको स्रोत बताउँछ । रजन मगर खिजीफलाटेमा रहेको इलाका प्रशासन कार्यालयमा 'रातसाँझ' को समय पारेर पसेको चर्चा सामाजिक सञ्जालमा आएको थियो । उक्त कुराको पुष्टि उनीहरुकै विज्ञप्तिबाट भएको छ । विज्ञप्तिमा उनीहरु दुवैले आफूहरुबीच भेट भएको समेत स्वीकार गरेका छन् । उनीहरुले उक्त भेटलाई कार्यालय समय बाहेकको समयमा कर्मचारीहरु मैत्रीपूर्ण भेटघाट गर्ने, खेल्ने, खाने र भलाकुसारी गर्ने व्यक्तिगत स्वतन्त्रता हुने भन्दै विज्ञप्तिमा तर्क पेश गरेका छन् ।
इलाका प्रशासन कार्यालयमा कार्यालय समय बाहेकको समयमा शंकास्पद गतिविधि गरेको भन्दै पत्रकार जीवन शर्माले सामाजिक सञ्जालमा लेखेपछि उनीहरुले विज्ञप्ति नै निकालेर खण्डन गरेका छन् । उनीहरु यतिमा मात्रै सीमित रहेका छैनन् । ईलाका प्रहरी चौकीमा उजुरी समेत हाल्न भ्याएका छन् । प्रशासनको आडमा प्रशासन कार्यालयलाई कारबाही गर्न माग समेत गर्न भ्याएका छन् ।
खासमा अदालतको आदेश आएको भोलिपल्टै पूर्व र वर्तमान प्रमुख भेटिनु संयोग मात्रै नभएर 'शंका' को रुपमा खिजीदेम्बामा चर्चा सुरु भएको छ । 'आदेश आएलगत्तै पूर्व प्रमुख र वर्तमान प्रमुख कार्यालय समयभन्दा अन्य समयमा कार्यालयमा भेट गर्नु शंकास्पद नै हो,' खिजीदेम्बाका एक स्थानीय भन्छन्, 'उहाँहरूको भेट गलत मनशाय नहोला तर रिटसँग सम्बन्धित कागजात थपघट नहोला भन्न पनि त नसकिएला । आदेशलाई मनन् गरेर केही हप्ता शंकास्पद ढंगबाट भेट नगरेको भए हुन्थ्यो ।'
अदालतको आदेश लगत्तै जिम्मेवार कर्मचारीहरुको यस्तो भेट अस्वभाविक देखिन्छ । तर कर्मचारीबीचको भेटबारे जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले कुनै अनुसन्धान सुरु गरेको छैन ।
यस्तो छ रिटको विषय
खिजीदेम्बा गाउँपालिकाका प्रमुख गम्बु शेर्पाविरुद्ध उच्च अदालत विराटनगर, अस्थाई इजलास ओखलढुंगामा रिट परेको थियो । उनीविरुद्ध अमेरिकाको ग्रीनकार्ड नत्यागी पुरानै नेपाली नागरिकताको प्रतिलिपिको आधारमा चुनावमा सहभागी भएर खिजीदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको भन्दै भुपेन्द्रबहादुर बस्नेतले उत्प्रेषण मिश्रित परमादेश तथा निषेधाज्ञाको रिट दर्ता गराएका थिए । उक्त रिट अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
अदालतले यही साउन ३१ गते गम्बु शेर्पाले नागरिकता पुनः कायम गरिपाउँ भनी इलाका प्रशासन कार्यालय खिजीफलाटेमा मिति २०७९ वैशाख ५ गते मा दिएको निवेदन र कुनै निर्णय भएको भए सो निर्णय लगायत सो सम्बन्धित सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि इलाका प्रशासन कार्यालय खिजीफलाटे ओखलढुंगाबाट झिकाउन आदेश दिएको थियो ।
सो आदेश आउनासाथ ३२ गते 'रातसाँझ' को समय पारेर इलाका प्रशासन कार्यालयमा पूर्व र वर्तमान प्रमुखले भेट गरेका थिए ।