ओखलढुंगा । ओखलढुंगा जिल्ला समाज युकेले ओखलढुंगाको बिलन्दु पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष नारायण गुरुङ, संयोजक कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष सुरेश श्रेष्ठको उपस्थितिमा पहिरोपीडिलताई ४ लाख ५० हजार सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच असारमा गएको पहिरोबाट मृत्यु भएका मृतक परिवार तथा भौतिक क्षति भएका परिवारलाई नगद सहयोग गरिएको थियो । पहिरोपीडित ४६ परिवारलाई क्षतिका आधारमा सहयोग गरिएको हो । रोजगारीका लागि वेलायतमा रहेका ओखलढुंगावासीहरूले गरेको सहयोगले पहिरोपीडितलाई राहत मिलेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो ।
संस्थाका अध्यक्ष नारायण गुरुङले सहयोग भावना लिएर वेलायतदेखि आएर सहयोग गरेको बताउनुभयो । 'आमाले माग्दैन जानेर दिनुपर्छ भन्ने उद्देश्य अनुरूप हामीले सहयोग गरेका हौँ,' उहाँले भन्नुभयो, 'हाम्रो संस्थामा जोडिएका एकहजार भन्दा बढी सदस्यहरुले गरेको सहयोगले यो सम्भव भएको हो ।'
सहयोग कार्यक्रमका संयोजक कृष्णबहादुर गुरूङले पीडितको पीडा देखेर ढिलै भए पनि ओखलढुंगा जिल्ला समाज युकेद्वारा सहयोग गरिएको बताउनुभयो । उहाँले जिल्लावासीलाई समस्या पर्दा जसरी पनि सम्बोधन गर्नुपर्छ भनेर आफ्नै पहलमा सेवाहेतुले सहयोग गरिएको बताउनुभयो ।
समाजका कोषाध्यक्ष सुरेश श्रेष्ठले समाजले निरन्तर सामाजिक काम गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप थोरबहुत स्वेच्छाले जुटेको रकमबाट पीडामा मल्हम लगाइएको बताउनुभयो ।
सहयोग कार्यक्रममा पहिरोपीडित तथा मृतक परिवार टेकबहादुर गुरुङले खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सहयोगी दाताहरुलाई दिलैदेखि धन्यवाद दिन चाहेको बताउनुभएको थियो ।
वेलायतमा विभिन्न पेशा व्यवसायमा आबद्ध ६० जनाले पहिरोपीडितका लागि सहयोग गरेका हुन् । संस्थाले जिल्लाभित्र यसअघि पनि सामाजिक काम गर्दै आएको छ ।