ओखलढुंगा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले लिखु क्षेत्रको विकास र पर्यटनमा योगदान पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले लिखु क्षेत्रमा भएका पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
माटेबेँसी महोत्सब सकिएपछि मन्त्री उप्रेती लिखु गाउँपालिकाका पोकली झरना, लिखु ९ मा रहेको कुण्डलेश्वर मन्दिर, ८ मा रहेको कुण्डलेश्वर गुफा र ७ नं वडामा रहेको ऐतिहासिक पोखरीस्थलको भ्रमण गर्नुभयो ।
भ्रमणमा लिखु गाउँपालिकाका समाजसेवी मननारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लिखु गाउँपालिका कमिटी अध्यक्ष नवीन पौडेल, योगेन्द्र बस्नेत, अमृत सागरसहित मन्त्री उप्रेतीका सचिवालय टीम र स्थानीय बुद्धिजीवीको समेत सहभागिता रहेको थियो ।
महोत्सव २४ गते समापन भए पनि मन्त्री उप्रेतीले समय दिएरै लिखु क्षेत्रमा भएका पर्यटकीयस्थल हरुको भ्रमण गर्नुभएको स्थानीय समेत रहनु भएका नवीन पौडेलले जानकारी दिनुभयो । 'मन्त्रीज्यूले यहाँका पर्यटकीय क्षेत्रहरुलाई विशेष चासोका साथ भ्रमण गर्नुभएको छ,' पौडेलले भन्नुभयो, 'लिखु क्षेत्रको विकास र पर्यटनमा योगदान पुर्याउने उहाँको प्रतिबद्धता छ ।'
माटेबेँसी महोत्सवमा मन्त्री उप्रेतीले लिखुको पोकलीलाई सम्बर्द्धन गर्न र प्रबर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले प्रदेश सरकारले पोकली झरनाको प्रबर्द्धनका लागि आगामी दिनमा सहकार्य गरेर काम अगाडि बढाउने बताउनु भएको थियो ।
मन्त्री उप्रेतीले अहिले देशले बच्न सक्ने भनेको बिजुली र त्यो भन्दा पनि माथि बेच्न सक्ने भनेको पर्यटन रहेको बताउनु भएको थियो । उहाँले दिनप्रतिदिन लाखौ युवाहरुले मुलुक छाड्नुपर्ने अहिलेको अवस्थालाई ठिक ढंगले समाधान गर्न पर्यटनलाई प्रबर्द्धन गर्ने, ब्राण्डिङ गर्ने र बजारमा ठिक ढंगले लान सक्यौँ भने मात्रै यो समस्याको समाधान हुने बताउनु भएको थियो ।