ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा फागुन १९ देखि पाँचौ संस्करणको अल्ट्रा फुल म्याराथन प्रतियोगिता हुने भएको छ । ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो ।
खिजिदेम्बा गाउँपालिका वडा नं. ५ खिजिफलाटेबाट सुरु हुने प्रतियोगीता चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, टुक्सिन्दो मैदाने दोराखार्क, रिपल ताउर, चुप्लुङ भञ्ज्याङ, दोब्रे भञ्ज्याङ, मेहेले गुम्बा हुँदै खिजिफलाटे बजार आएर सम्पन्न हुने आयोजक संस्थाका कोषाध्यक्ष कुङ्गा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिताको दूरी ४२ किलोमिटर लामो रहेको छ ।
खेलकुदबाट पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगीतामा अन्तराष्ट्रिय तथा स्थानीय धावक गरी एक सय पचासभन्दा बढीको सहभागीता रहने अपेक्षा गरिएको छ । प्रतियोगीतामा सहभागी हुन इच्छुक राष्ट्रिय तथा स्थानीय धावकहरुले नाम दर्ताको लागि १५ सय र विदेशी धावकहरूले १ सय अमेरीकी डलर दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
धावकहरुले फागुन १८ गते बेलुका ७ बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ । म्याराथन प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने धावकहरु महिला, पुरुष दुवैतर्फ रु.७० हजार, ६० हजार, ५० हजार र २५ हजार प्रदान गरिनेछ । त्यस्तै स्थानीय धावकहरुको हकमा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने महिला, पुरुष दुवैतर्फ धावकहरुलाई २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ ।