ओखलढुंगा । चम्पादेवी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि लोभलाग्दो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि केन्द्रित नीति तथा कार्यक्रमबाट वास्तविक किसानले लाभ लिन सक्ने देखिएको छ ।
अन्य गाउँपालिकाभन्दा यसवर्ष चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले भिन्न नीति तथा कार्यक्रम ल्याउनुभएको हो । जसमा गाउँपालिकाले ३० देखि ५० मुरीसम्म आलु उत्पादन गर्ने किसानलाई ५ हजार र ५० मुरीभन्दा माथि उत्पादन गर्ने किसानलाई १० हजार रुपैयाँ प्रोत्साहनको व्यवस्था गर्ने भएको छ ।
५० घार मौरी पालन गर्ने किसानलाई ५० हजार र सोभन्दा माथि भएमा प्रतिघार २ हजारका दरले किसानले प्रोत्साहन पाउने भएका छन् । रैथाने जातको बाली संरक्षण गर्दै गाउँपालिकाले १२ महिना नै खेतबारी बाँझो नराख्ने नीतिलाई अगाडि सारेको छ । जसमा ३ देखि ५ मुरी कोदो, गहु र फापर उत्पादन गर्ने किसानले ३ हजार, ५ देखि १० मुरी उत्पादन गर्ने किसानले रु ६ हजार र १० मुरी माथी उत्पादन गर्ने किसानले रु १० हजार रुपैयाँ प्रोत्साहन पाउने भएका छन् । २०० केजीदेखि ५०० केजीसम्म दालबाली उत्पादन गर्ने कृषकलाई गाउँपालिकाले रु ५ हजार र ५०० केजीभन्दामाथि उत्पादन गर्ने किसानले ८ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
गाउँपालिकले घाँसबाली लगाउने कार्यलाई प्रोत्साहित गर्दै १० रोपनी भन्दा माथी उन्नत जातको घासबाली लगाउने किसानलाई १० हजार रूपैयाँ प्रोत्साहन दिने भएको छ । यस्तै रेशम खेतीलाई जोडदिँदै २० रोपनीमा किम्बु खेती गर्ने किसानलाई गाउँपालिकाले २५ हजार प्रोत्साहन पाउने भएका छन् ।
व्यवसायिक पशुपालन अन्तर्गत २५ देखी ५० वटा सम्म बाख्रापालन गर्ने किसानलाई १५ हजार, ५० देखी ६० वटा सम्मलाई ५० हजार र ६० देखी माथी पाल्ने किसानलाई विशेष व्यवस्था गरिएको छ । भैँसीपालन अर्न्तगत एक घरमा ३ वटा लैनो भैँसी हुने किसानको लागि रु २५ हजार प्रोत्साहन साथै ३ लाखसम्म बैंकबाट लोन लिँदा ३ बर्ष सम्मको व्याज अनुदान दिने व्यवस्था गरिएको छ । बंगुरपालनतर्फ व्यवसायिक रुपमा २० वटा भन्दा बढी पाल्ने किसानका लागि रु २० हजार र २ माउ पाली बच्चा उत्पादन गर्ने कृषकका लागि गाउँपालिकाले रु ५ हजार प्रोत्साहन गर्ने भएको छ । १०० केजीभन्दामाथि सुर्ति उत्पादन गर्ने कृषकलाई रु ३ हजार प्रोत्साहन दिने नीति गाउँपालिकाले अगाडि सारेको छ ।
गाउँपालिकाले 'किसान दाई उत्पादन देउ मलाई” भन्ने नाराका साथ किसानले उत्पादन गरेका कृषि उत्पादन सहकारी मार्फत गाउँपालिकाले जिम्मा लिने नीति लिएको छ ।
पशुपंक्षिहरुको विमा गरि पशुपालन र कृषिमा विषेश प्राथमिकताका साथ अनुदानको व्यवस्था गरि कृषकहरुलाइ हौसला स्वरुप व्यवसायिक खेती गर्ने कृषकका लागि मल, विउ किटनाषक औषधी तथा प्राविधिक सेवा निशुल्क व्यवस्था आगामी नीति तथा कार्यक्रममा लिइएको छ ।
गाउँपालिका भित्र एक चिस्यान केन्द्र स्थापन गर्न आवश्यक पहल गर्ने र पलापुमा विगमार्ट स्थापना गर्ने गाउँपालिकाको नीति छ । यस्तै अर्गानिक कृषि वस्तु उत्पादनलाई बढुवा दिने, किसानहरुबाट उत्पादीत फलफूल तरकारी तथा अन्य नगदेबालीहरुको बजारीकरणको सहजिकरण गर्न गाउँपालिकाभित्र एउटा बिक्री कक्ष स्थापना कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।
गाउँपालिकाले कृषिका अलवा अन्य क्षेत्रमा समेत लोभलाग्दा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले शिक्षामा एसईईमा उत्कृष्ट छात्रछात्राले १० जोड २ सम्म छात्रवृत्तिमा पढाइदिने भएको छ । एसईईमा उत्कृष्ट हुने विद्यालयलाई गाउँपालिकाले ५० हजार नगद दिने भएको छ ।
युवाहरु पलायन हुनबाट रोक्न, गाउँमै सम्भावना खोज्न र किसानलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले गाउँपालिकाले यसवर्ष भिन्न नीति तथा कार्यक्रम अगाडि सारेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो ।