ओखलढुंगा । युगकवि सिद्धिचरण प्रतिष्ठानले हरेक वर्ष वितरण गर्दै आएको युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गरेको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार २०८१ ओखलढुंगाका पत्रकार नवराज कार्कीलाई प्रदान गरिएको छ ।
आज युगकवि सिद्धिचरण जयन्तीका अवसरमा काठमाडौंमा प्रतिष्ठानले आयोजना गरेको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर र कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
तीनदशकदेखि युगकविका कृति र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देश विदेशमा फैलाउन विशिष्ट योगदान पुर्याएबापत प्राडा ठाकुरलाई १ लाख राशिको युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गरिएको हो । यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रयाशील भएर योगदान गरेवापत पत्रकार कार्कीलाई ४० हजार राशिको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पत्रकार कार्की ओखलढुंगा जिल्लामै रहेर डेढदशक अघिदेखि पत्रकारिता गर्दै आउनु भएको छ । कार्की नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता समेत हुनुहुन्छ ।
सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उनकी सुपुत्रीको निधन भएकाले स्थगित गरी सोमबार गरिएको हो ।
समारोहमा प्रतिष्ठानका संरक्षक तथा युगकविका सुपुत्र रविचरण श्रेष्ठले साहित्य र पत्रकारिताका क्षेत्रमा युगकविको सुयस फैलाउने एक एक जना व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गरिँदै आएको बताउनुभयो । पुरस्कार वितरण समारोहको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गरेका गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभयो । ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको धारणा राख्नुभयो । 'जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ', उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गर्नुभयो ।
'उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु', उहाँले भन्नुभयो, 'उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।' युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो ।
कार्यक्रम काठमाडौँस्थित जंगी अड्डा सभा मण्डपमा सम्पन्न भएको हो ।