ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकाले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फाल्गुन २१ देखि २४ गतेसम्म खुल्ला अन्तर वडास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता खिजीदेम्बा गाउँपालिकाको खिजीफलाटे बजारमा हुनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारसहित विभिन्न व्यक्तिगत उत्कृष्टता पुरस्कार प्रदान गरिने छ। प्रथम पुरस्कार रु १ लाख १ हजार, द्वितीय रु ७६ हजार, तृतीय रु ५१ हजार तथा सान्त्वना पुरस्कार रु २५ हजार तोकिएको छ। साथै, सर्वोत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई रु ३ हजार ५ सय ५५ तथा उत्कृष्ट स्पाइकर, डिफेन्डर, सेटर, र सर्भरलाई रु २ हजारका दरले पुरस्कार दिइने छ। विजयी टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताले स्थानीय महिला खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने तथा खेलकुद प्रवर्द्धन गर्दै नारी सशक्तिकरणमा योगदान दिने विश्वास गरिएको गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिन इच्छुक टिमहरूले फाल्गुन २० गते बेलुका ५ बजेसम्म रु ३ हजार शुल्क तिरेर दर्ता गर्नुपर्ने छ। प्रत्येक टिममा अधिकतम ९ खेलाडी र १ प्रशिक्षक रहनेछन्। सहभागी खेलाडीहरूले वडाको सिफारिस पत्र, नागरिकता वा परिचय खुल्ने सरकारी कागजात, र १ प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्नेछ। खेलाडीहरूले नम्बरसहितको जर्सी अनिवार्य रूपमा ल्याउनुपर्ने छ भने लिबेरो खेलाडीको पोशाक फरक हुनुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ। खेलको क्रममा घाइते भएमा आयोजकले प्राथमिक उपचारको व्यवस्था गर्ने छ भने पुरस्कार राशिमा नियमअनुसार कर कट्टी हुने छ। खेलाडीहरूको खानेबस्ने व्यवस्था स्वयंले गर्नुपर्ने छ।
थप जानकारीका लागि मणिराज तामाङ (९८४९४४६९३३), सञ्जय लामा (९८४१३१९५०२) वा गौरवराज के.सी. (९७४८६४२७८९) मा सम्पर्क गर्न सकिनेछ।