ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) लाई मर्यादित र शान्तपूर्वक मनाउन जिल्लावासीहरुलाई आग्रह गरेको छ। प्रशासनले आज एक सूचना जारी गर्दै होली पर्वलाई सभ्य, भव्य र सु-संस्कृत रुपमा मनाउन अनुरोध गरेको हो।
सूचनामा होली पर्वको अवसरमा जबरजस्ती रङ्ग हान्ने, लोला हान्ने, फोहोरहरु छ्याप्ने, बाटोमा हिड्ने यात्रीहरुलाई दुःख दिने, सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानहरुमा हो-हल्ला गर्ने, चर्को आवाजमा बाजा बजाउने जस्ता कार्यहरु नगर्न आग्रह गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालद्वारा जारी सूचनामा कसैले पनि व्यक्तिगत जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न र स्वास्थ्य सुरक्षालाई ध्यान दिन आग्रह गरिएको छ। प्रशासनले होलीलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनात्मक बनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सहयोग गर्न पनि आग्रह गरेको छ।
सूचनामा अवाञ्छित क्रियाकलापहरु गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिइएको छ। प्रशासनले जिल्लाको सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय पहिचानलाई कायम राख्दै होली मनाउन सबैलाई आह्वान गरेको छ।