ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयअनुसार खुल्ला ब्याडमिन्टन तथा फुटबल प्रतियोगिता आगामी चैत २१ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ।
ब्याडमिन्टन प्रतियोगितामा पुरुष, महिला, जिल्लास्तरीय तथा भेट्रान्स ९०+ खेलाडीहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ। प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिनेछ। डबल पुरुष खुल्ला, डबल महिला खुल्ला, डबल जिल्लास्तरीय तथा भेट्रान्स ९०+ खेलाडीहरूका लागि प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ तथा सेमिफाइनलिस्टलाई १० हजार रूपैयाँ दरले रुपैयाँ गरिनेछ।
खुल्ला पुरुष फुटबल प्रतियोगिताका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टिमले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल तथा ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १ लाख रुपैयाँ र तेस्रो हुने टिमलाई ७० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट गोलकर्ता मध्ये प्रत्येकलाई ५ हजार रुपैयाँका दरले नगदसहित ट्रफी प्रदान गरिने छ।
ब्याडमिन्टन प्रतियोगिता बीडब्लुएफको नियमअनुसार खेलाइने छ भने टप २० मा रनिङमा पर्ने खेलाडीहरूलाई सहभागी गराइने छैन। फुटबल प्रतियोगिता एन्फाको नियमअनुसार खेलाइने छ, जहाँ खेल सेभेन ए साइड हुनेछ। फुटबल प्रतियोगिताका लागि टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ भने ब्याडमिन्टन खेलाडीहरूले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टिमहरूले चैत २० गते दिउँसो ४ बजेभित्र दर्ता गरिसक्नुपर्नेछ।
प्रतियोगिता सुनकोशी गाउँपालिका अन्तर्गत कभर्ड हल तथा खेलमैदानमा सञ्चालन गरिनेछ। खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले सुनकोशी गाउँपालिकाले यो प्रतियोगिता आयोजना गर्न लागेको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले ओखलढुंगाखबरलाई जानकारी दिनुभयो।
खेलसँग सम्बन्धित थप जानकारीका लागि पुञ्जल लुईटेल (९८६०७१९१०२) वा विवेक कुमार तामाङ (९८४३३६३१३४) लाई सम्पर्क गर्न सकिनेछ।
विस्तृत तल हेर्नुहोस्

