ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आयोजना गरेको दोस्रो सुनकोसी गाउँपालिका अध्यक्षकप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बान्द्रेली नाङसल एकता युवा क्लब मूलखर्कले खुल्ला पुरुष फुटबलतर्फको उपाधि जितेको छ ।
सुनकोशी गाउँपालिकाले खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले चैत २१ देखि २३ गतेसम्म आयोजना गरेको फुटबल तथा ब्याडमिन्टन प्रतियोगिताको समापन समारोह शनिबार सम्पन्न भएको हो । फुटबल प्रतियोगितामा बान्द्रेली नाङसल एकता युवा क्लब मूलखर्कले १ लाख ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र जितेको छ ।
रुम्जाटार युनाइटेड रुम्जाटारले दोस्रो हुँदै १ लाख र मानेभञ्ज्याङ गाउँपालिकाको सुनाखरी कोशेली युवा समूहले तेस्रो हुँदै ७० हजार प्राप्त गरेको छ ।
ब्याडमिन्टनतर्फ खुल्ला पुरुषमा एपीएफका भोजबहादुर गुरुङ र महेश खड्का प्रथम तथा हिरा राई र राम राई द्वितीय भएका छन् । सेमिफाइनलिष्टमा लाक्पा शेर्पा र विनय चौधरी तथा सगुन कार्की र गणेश ढुंगेल रहेका छन् ।
महिलातर्फ अमिता गिरी र अनुमाया राई प्रथम तथा रोजी राई र सृष्टि राई द्वितीय भएका छन् । सेमिफाइनलिष्टमा अन्जना वान्तवा राई र रोष्ना सिर्पाली तथा निशाम लाङ्गमा सुब्बा र नवीना राई रहेका छन् ।
जिल्लास्तरीय प्रतियोगितामा हिरा राई र गोविन्द तामाङ प्रथम तथा हित राई र सानुबाबु श्रेष्ठ द्वितीय भएका छन् । सेमिफाइनलिष्टमा पुञ्जल लुइटेल र गणेश ढुंगेल तथा विकास कट्वाल र सुविन तामाङ रहेका छन् ।
यस्तै मास्टर डबल ९०+ तर्फ श्रवण चौधरी र राम राई प्रथम तथा हित राई र सुनकोसी गाउँपालिकाका अध्यक्ष समेत रहेका कमल तामाङ द्वितीय भएका छन् ।
सेमिफाइनलिष्टमा गंगाराम तामाङ र नवीन तामाङ तथा सानुबाबु श्रेष्ठ र सर्वधन राई रहेका छन् । ब्याडमिन्टनका विधागत विजेताहरुले क्रमश प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ तथा सेमिफाइनलिस्टले १० हजार रूपैयाँ दरले प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्यातएको आयोजकले जनाएको छ ।
समापन समारोहमा कोशी प्रदेशका पूर्वमन्त्री तथा ओखलढुंगाका प्रदेश सांसद प्रदीपकुमार सुनुवार प्रमुख अतिथि थिए । सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको अध्यक्षतामा सम्पन्न समारोहमा सिद्धिचरण नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनाल, चम्पादेवी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति नवराज केसी, सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी र सुनकोशी गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार कार्कीको उपस्थिति थियो।