ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा चैत २७ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको “गाउँपालिका अध्यक्षकप २०८१” सम्पन्न भएको छ। गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको प्रतियोगितामा २० विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिता स्थानीय युवाहरूलाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो।
समापन समारोह चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा ओखलढुंगाका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा उपस्थित थिए। कार्यक्रममा विश्व पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की, चम्पादेवी गाउँपालिकाका उपाध्यक्ष दीलामाया मगर, दुर्गाबक्स गणका गणपति विजयप्रकाश आङदेम्बे लगायतको उपस्थिति थियो।
प्रतियोगितामा पुरुष भलिबलतर्फ चम्पादेवी गाउँपालिका ‘ए’ ले प्रथम स्थान प्राप्त गरी दुई लाख रुपैयाँ पुरस्कार जितेको छ। दुर्गाबक्स गण दोस्रो हुँदै एक लाख पचास हजार, लिखु गाउँपालिका तेस्रो हुँदै एक लाख रुपैयाँ प्राप्त गरेको छ भने चम्पादेवी गाउँपालिका ‘बी’ ले शान्त्वना पुरस्कार स्वरूप पचास हजार रुपैयाँ प्राप्त गरेको छ।
महिला भलिबल प्रतियोगितामा चम्पादेवी वडा नं. २ को टिम प्रथम हुँदै पचास हजार रुपैयाँ जित्न सफल भयो। दोस्रो स्थानमा चम्पादेवी वडा नं. ९ ले पैंतीस हजार, तेस्रो स्थानमा चम्पादेवी वडा नं. १ ले बीस हजार र शान्त्वना स्थानमा चम्पादेवी वडा नं. ९ ‘बी’ ले दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
खुला श्रेणीको घोडा रेसमा टेकबहादुर खड्काको घोडा प्रथम हुँदै तीस हजार, नुरी शेर्पाको घोडा दोस्रो हुँदै बीस हजार र मुनु कार्कीको घोडा तेस्रो हुँदै दश हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ।
महिला तान डोरी प्रतियोगितामा सुनिता गुरुङको टिमले प्रथम स्थान हासिल गरी बीस हजार रुपैयाँ जित्यो। सन्टी माया शेर्पाको टिमले दोस्रो हुँदै बाह्र हजार, सोनिम थापा मगरको टिमले तेस्रो हुँदै सात हजार र जगमाया थापाको टिमले शान्त्वना पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ प्राप्त गरेको छ। पुरुष तान डोरीमा तोरन बुढाथोकीको टिमले प्रथम स्थान प्राप्त गरी बीस हजार, चम्पक नेपालीको टिमले दोस्रो हुँदै बाह्र हजार, खेलकुद विकास समिति चम्पादेवीको टिमले तेस्रो हुँदै सात हजार र तेन्जी शेर्पाको टिमले शान्त्वना पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ प्राप्त गरेको छ।
महिला घैंटो फुटाउनेमा सम्टी शेर्पा प्रथम हुँदै पाँच हजार, विनिता बोगटी दोस्रो हुँदै तीन हजार, लक्ष्मी खड्का तेस्रो हुँदै दुई हजार र सानी गुरुङ शान्त्वना हुँदै एक हजार रुपैयाँ प्राप्त गरिन्। भाले झिक्ने खेलमा पुरुषतर्फ पूर्णबहादुर नेपाली र महिलातर्फ कल्पना बरालले प्रथम स्थान हासिल गरी पाँच–पाँच हजार रुपैयाँ जितेका छन्।
गोरू जुधाइ प्रतियोगितामा बलबहादुर राई प्रथम हुँदै बीस हजार, सुमन तामाङ दोस्रो हुँदै दश हजार, दीपक खड्का तेस्रो हुँदै पाँच हजार र टेकबहादुर खड्काले शान्त्वना पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ प्राप्त गरे।
सटपुट प्रतियोगिताको पुरुषतर्फ टीकाहरि श्रेष्ठले प्रथम हुँदै पाँच हजार, रोजेश श्रेष्ठले दोस्रो हुँदै तीन हजार, सजिन श्रेष्ठले तेस्रो हुँदै दुई हजार र धनबहादुर श्रेष्ठले शान्त्वना पुरस्कार स्वरूप एक हजार रुपैयाँ प्राप्त गरे।
दौडतर्फ ४ सय मिटर पुरुष दौडमा कमल मगर प्रथम, हेमराज मगर दोस्रो र ईश्वर अधिकारी तेस्रो भए। १०० मिटर महिला दौडमा सपना दुराल प्रथम, करिष्मा गुरुङ दोस्रो, पवित्रा बुढाथोकी तेस्रो र रीता मगर शान्त्वना स्थानमा परिन्। पुरुष १०० मिटर दौडमा रेमन मगर प्रथम, सञ्जय मगर दोस्रो, विवश कार्की तेस्रो र ईश्वर अधिकारी शान्त्वना स्थानमा रहे।
जीवनसाथी बोकेर दौड्ने रोचक प्रतियोगितामा खीला अधिकारीको जोडीले प्रथम स्थान हासिल गरे भने कुवेर कार्कीको जोडी दोस्रो र पूर्णबहादुर नेपालीको जोडी तेस्रो स्थानमा परे। यो प्रतिष्पर्धामा पनि गाउँपालिकाले उचित पुरस्कारको व्यवस्था गरेको थियो।
प्रतियोगितामा जीवन साथी बोकेर दौड्ने प्रतिष्पर्धामा सुन्तली नेपालीले आफ्नो जीवनसाथी कुलबहादुर नेपालीलाई बोकेर दौड्नुभएको थियो। उहाँलाई चम्पादेवी गाउँपालिकाले २ हजार र नेपाली कांग्रेसका युव नेता धनबहादुर गिरी (डीबी) ले ३ हजार रुपैयाँ प्रदान गरेको थियो। यस्तै तानडोरी महिलातर्फको खेलमा प्रथम हुने सुनिता गुरुङको टीमलाई थप डीबी गिरीले ३ हजार पुरस्कार प्रदान गरेका थिए।
गाउँपालिका अध्यक्ष नवराज केसीले प्रतियोगितालाई चम्पादेवीको लागि ऐतिहासिक अवसरको रूपमा चित्रण गर्दै खेलकुदले युवाहरूलाई स्वस्थ प्रतिस्पर्धामा जोड्नुका साथै सामाजिक एकता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने बताए। उनले प्रतियोगिताले गाउँपालिकामा खेलकुदको नयाँ लहर ल्याउने विश्वास व्यक्त गर्दै भविष्यमा अझ भव्य रूपमा प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।