ओखलढुंगा । यही वैशाख ६ र ७ गते ओखलढुंगा सदरमुकाममा हुने आदिवासी जनजाति युवा महासंघ नेपालको छैठौँ संघीय महाधिवेशनको तयारी पूरा भएको छ । महासंघले आज ओखलढुंगा सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरेर महाधिवेशनको तयारी पूरा भएको र कार्यक्रमबारे समेत विस्तृत जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष हेमकुमार राईले आदिवासी जनजातिहरुको हक अधिकार, न्याय, समानता, समावेशिता, सहभागिता र आदिवासी पहिचान सहितको समतामूलक व्यवस्थाजस्ता मुद्दाहरुलाई स्थापित गर्ने उद्देश्यका साथ ऐतिहासिक महाधिवेशन आयोजना गर्न लागिएको बताए। उनले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै देशभरका आदिवासी जनजाति युवाहरूको सक्रिय सहभागिता रहने बताए।
दुई दिनसम्म चल्ने महाधिवेशनमा आदिवासी जनजाति युवाहरूको वर्तमान अवस्था, भावी कार्यदिशा, संगठन विस्तार र सहकार्य लगायतका विषयमा गहन छलफल हुनेछ। महाधिवेशनबाटै महासंघले नयाँ कार्यसमिति समेत पाउनेछ । महाधिवेशनको उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धबहादुर घर्तीलगायत विभिन्न राजनीतिक दलका नेता, आदिवासी जनजाति अगुवा र बुद्धिजीवीहरूको उपस्थिति रहने जानकारी गराइएको छ।
पत्रकार सम्मेलनमा जानकारी दिँदै अध्यक्ष राईले युगौंदेखि पछाडि पारिएका आदिवासी समुदायको पहिचान र अधिकारलाई स्थापित गर्न युवाहरूको निर्णायक भूमिका रहने बताए। उनले सामाजिक, राजनैतिक, शैक्षिक र आर्थिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता बिना देशको समग्र विकास सम्भव नभएको धारणा राखे। महाधिवेशनमार्फत आदिवासी जनजाति युवाहरूलाई एकजुट भई महासंघको छातामुनि संगठित हुन उनले आह्वान समेत गरे।
महासंघका संघीय उपाध्यक्ष हिलारीबन्धु भूजेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले महासंघमा आबद्ध युवाहरुबाट विभिन्न भाषा, भेषभुषा, सांस्कृतिक पक्षलगायतका कुराहरु भित्र्याउन, आन्तरिक पर्यटन प्रबर्द्धन गर्न र आर्थिक रुपान्तरण गर्न ओखलढुंगामा महाधिवेशनको आयोजना गरिएको बताएका छन् । पहिचान, अधिकारसहितको समृद्धि र रोजगारीका लागि हाम्रो अभियान, न्याय, समानता, समावेशी, युवा नेतृत्वको लागि छैटौँ संघीय महाधिवेशन भन्ने मूल नाराका साथ देशैभरिका करिब ३ सय युवा प्रतिनिधिहरुको साथमा आयोजना हुन लागेको महाधिवेशनको उद्घाटन अगाडि ६ गते आदिवासी जनजाति पहिचान र भेषभुषासहितको झाँकी तथा र्याली समेत निकाल्ने तयारी गरिएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष राई र संघीय उपाध्यक्ष भूजेलसहित उपाध्यक्ष शुभलाल राई, महासचिव किरण श्रेष्ठ, सचिव मिलन घिसिङ (घम्बा), सचिव राधिका श्रीष, सदस्यहरु चित्रा छन्त्याल, सुवास तामाङ, देव बाहिङ, रग्वा शेर्पा र रुम्जाली नेफिनका सचिव दीपेन्द्र रुम्दालीलगायतको सहभागिता रहेको थियो।
महासंघले यस ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन सबै सरोकारवाला निकाय र व्यक्तिहरूलाई सहयोगको लागि अपिल गरेको छ।