ओखलढुंगा। सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि आजदेखि एक सातासम्मका लागि नेपाल लकडाउन गराएको छ । सरकारको निर्णय र निर्देशनसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पनि ओखलढुंगा लकडाउन गर्ने आदेश जारी गरेको छ ।
प्रशासन कार्यालयले आदेश जारी गर्दै औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाएको छ । कार्यालयले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र एम्बुलेन्सबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छैन ।
स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा भने यथावत सञ्चालन गराइएको छ ।
ओखलढुंगा सदरमुकाममा जे देखियो
ओखलढुंगा लकडाउन भएसँगै आज विहानैदेखि ओखलढुंगा सदरमुकाम सुनसानजस्तै देखिएको छ । छिटपुटबाहेक प्राय: सबैजसो पसलहरु बन्द छन् । औषधि, खाद्यान्न पसलहरु कतै कतै खुला देखिए । बजारमा फाट्टफुट्ट रुपमा स्थानीयहरु घरबाहिर देखिए ।
प्रशासनको आदेश कडाई नहुँदा कतैकतै बाइक, जिप, कारलगायतका सवारी गुडिरहेको देखियो । केहीले औषधि र खाद्य सामग्री खरीदका लागि निजी सवारी बाइक प्रयोग गरेको पाइयो । बजारमा हिँड्ने अधिकांशले माक्स लगाएको पाइएन ।
हेरौँ ओखलढुंगा बजारका केही तस्बिरहरू-
तस्बिरहरू : नवराज कार्की