ओखलढुंगा । मंगलबारदेखि कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले नेपाल लकडाउन गरेको छ । लकडाउनमा नागरिकलाई घरबाहिर निस्कन, सवारी साधन सञ्चलन गर्न, भेला हुन निषेध गरिएको छ । विशेषगरी लकडाउनको प्रभाव शहरी क्षेत्रमा देख्न सकिन्छ । गाउँमा लकडाउनको प्रभाव छँदै छैन भन्दा हुन्छ । गाउँमा मेलापात, घाँस दाउरा, वस्तुभाउ गर्नु किसानको दैनिकी नै हो । सबै काम भ्याउनु गाउँलेको बाध्यता हो । यी काम गर्नलाई घरबाहिर ननिस्की सम्भव पनि छैन ।
त्यसो भए गाउँमा लकडाउन कसरी गर्ने त ? ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं ४ को वडा कार्यालयले गजबको निर्णय गरेको छ । गाउँलेको बाध्यतालाई बुझेर वडा कार्यालयले आफ्नो वडाभित्र सार्वजनिक स्थलमा विनाकाम ५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । वडाले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन र घरभित्र पनि ३ फुटको दूरी बनाएर बस्न अनुरोध गर्ने निर्णय गरेको छ । वडाको बैठकले विभिन्न प्रकारका सामुहिक खेल खेल्न, मदिरा सेवन र बिक्रीवितरण गर्न निषेध गरेको छ ।
वडाध्यक्ष कलम न्यौपानेको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य चौकी खिजिकातिमा हेल्थ डेक्स स्थापना गरेर नियमित वडाका नागरिकलाई नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । वडा कार्यालयले विदेश तथा सहरबाट आएकाको तथ्यांक राख्ने, ५ जनाभन्दा बढी सामुहिक भेला भएर गरिने विवाह, ब्रतबन्ध, घरनिर्माणलगायतका कार्य गर्न रोक्ने, कोरोनाबारे जनचेतना फैलाउनेजस्ता कार्यहरु गर्ने भएको छ ।
यस्तै बैठकले शहर तथा विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने, भीडभाडमा सहभागी हुन नदिने, अत्यावश्यक वस्तुहरु नियमित आपुर्ति गर्ने, कृतिम अभाव सृजना नगर्ने, मूल्य वृद्धि नगर्ने लगायतका निर्णय समेत गरेको छ ।