ओखलढुंगा । गत चैत १२ गते धादिङका एक युवामा कोरोना संक्रमण भएको नेपाल सरकारले पुष्टि गर्यो । ती युवा युनाइटेड अरब इमिरेट्स (यूएई) बाट एअर अरेबियाको फ्लाइट नम्बर जी९५३७ विमानमा चैत ६ गते नेपाल फर्किएका युवा हुन् । सोही विमानमै ओखढुंगाको मोलुङ गाउँपालिकास्थित वडा नं १ का एक युवा पनि नेपाल आएको पाइएको छ । अहिले ती युवा मोलुङ गाउँपालिका वडा नं १ स्थित आफ्नै घरमा छन् ।
सुरुमा सरकारले कतार एअरवेजमार्फत धादिङका संक्रमित युवा नेपाल आएको बताए पनि पछि फेसबुकमा गल्ती सच्याउँदै उनी एअर अरेबियाको जहाजमा १९ मार्चमा नेपाल आएको पुष्टि गरेको थियो ।
सरकारको पुष्टिसँगै ती मोलुङका युवा पनि सोही विमानमा चढेको आशंकामा आफन्तले खोजी गरेका थिए । उनका कागजपत्र हेर्दा उनी चढेको विमान र धादिङका कोरोना संक्रमित युवा चढेको विमानको नम्बर एउटै रहेको पाइएको छ । उनी १९ मार्च अर्थात् चैत ६ गते नेपाल आएका हुन् ।
मोलुङका ती युवा भिजिट भिसामा २ महिना अघि दुबई गएका थिए । उनी चैत ६ गते नेपाल झरेका झरेपछि गत आइतबार गाउँ आएका हुन् । अहिले उनी घरमै रहेको उनको पारिवारिक स्रोतले ओखलढुंगाखबरलाई जानकारी दिएको छ । कोरोना संक्रमित चढेको विमानमै आएका ती युवालाई क्वारेन्टाइनमा राख्ने प्रयास गरिएको छ । 'मलाई एअरपोर्टमै कोरोना चेक गरिसकेको हो,' ती युवाको भनाई उदृत गर्दै पारिवारिक स्रोतले भन्यो, 'मलाई कोरोना लागेको छैन चिन्ता नलिनूस् ।'
मोलुङ १ नं वडाका वडाध्यक्ष प्रदीपकुमार बानियाँले पनि ती युवालाई रामपुरमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको जनाए ।
प्रशासनले भन्यो जानकारी संकलन भइरहेको छ
यसैबीच धादिङका कोरोना संक्रमित युवासँगै नेपाल आएका मोलुङका युवाको विषयमा जिल्ला प्रसासन कार्यालयले जानकारी नभएको बताएको छ । को को आएका थिए भन्ने विषयमा जानकारी संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विमानमा चढ्ने सबैको खोजी
कोरोना भाइरसको संक्रमण देखिएका धादिङका युवा सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।