विश्वभर महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिम, रोकथाम र उपचारका लागि ओखलढुंगामा आवश्यक तयारी गरिँदै छ । स्थानीय तहहरुले संभावित संक्रमणबाट नागरिकलाई सजग गराउन तीव्र गतिमा प्रचारप्रसार गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय र सिद्धिचरण नगरपालिको सक्रियता तथा विभिन्न कार्यालयको समन्वयमा जिल्लास्तरमा ओखलढुंगा सामुदायिक अस्पतालमा आइसोलेसन कक्ष तथा जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा क्याम्पस ओखलढुंगामा क्वारेन्टाइन कक्ष स्थापना भइसकेको छ । सबै स्थानीय तहमा तहगत क्वारेन्टाइन स्थापना गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ । विदेश तथा बाह्य जिल्लाबाट भित्रिनेहरुको लगत संकलन र क्वारेन्टाइनमा पठाउने काम पनि थालिएको छ । सरकारले जारी गरेको लकडाउन जिल्लामा पालना भइरहेकै छ ।
तर यति हुँदाहुँदै पनि विश्वभर महामारी निम्त्याइरहेको कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखियो भने के ओखलढुंगाका विरामीको सहजै कोरोना परीक्षण होला त ? कसरी गरिएला परीक्षण ? कोरोनाको संभावित संक्रमण नहोस् भनेर सुरुमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई उच्च निगरानीका साथ क्वारेन्टाइनमा राखिन्छ । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिहरुलाई आइसोलेसनमा भर्ना गरिन्छ । आइसोलेसनमा केही दिन उपचार पद्धति पनि सुरु गरिन्छ । केही दिन उपचार गर्दा पनि समस्या बढ्दै गएमा मात्रै कोरोनाको ल्याब परीक्षणको प्रक्रिया अगाडि बढाइने ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्य बताउँछन् ।
जिल्लाबाट कोरोना परीक्षणको प्रक्रिया झन्झटिलो छ । यहाँ ल्याब परीक्षण हुँदैन । त्यसैले केही दिन अघि मात्रै संविधानसभा सदस्य रामहरि खतिवडाले जिल्ला जिल्लामा कोरोनाको परीक्षण गर्ने व्यवस्था गरियोस् भनेर भनेका थिए । ओखलढुंगाबाट कोरोना परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालले प्रक्रिया अगाडि बढाउन सक्छन् । हालै रुम्जाटार अस्पतालका एकजना ल्याबमा कार्यरत कर्मचारीलाई कोरोना परीक्षणका लागि विरामीको स्वाब (खकार) कसरी सुरक्षित भएर लिने भन्ने तालिममा समेत सहभागी गराइएको छ ।
कोरोनाको आशंका लागेपछि अस्पतालले विरामीको स्वाब कोल्ड चेन विधि अपनाएर काठमाडौं अथवा धरान पठाउने व्यवस्था गर्छ । कोल्ड चेन अपनाउँदा विरामीको स्वाब २ डिग्री सेन्टिग्रेटभन्दा तल तापक्रम बनाएर लैजानुपर्ने हुन्छ । काठमाडौं वा धरानमा कोरोनाको परीक्षण गराउँदा स्वाब संकलनदेखि कोरोनाको रिपोर्ट आउने बेलासम्मको प्रक्रिया ३ दिन लाग्न सक्ने स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारी बताउँछन् । कोरोना परीक्षण गर्ने ल्याबमा विरामीको घुइँचो लागेमा अझ केही दिन बढ्न सक्छ । जिल्लाका अस्पतालले विरामी धेरै आएमा र संक्रमणको जोखिम बढेमा सीधै अस्पतालले सीधै काठमाडौं वा धरान रिफर समेत गर्न सक्ने तिवारीको भनाई छ ।
कोरोना भाइरस नदेखिँदासम्म त ठीकै हो । यो भाइरस जिल्लामा देखियो भने त्यसबाट भयाबह अवस्था आउने निश्चित छ । कोरोना देखिएमा पहाडी क्षेत्रको हाम्रोजस्तो जिल्लाका विरामीलाई अस्पतालको पहुँचमा पुर्याउनै मुश्किल हुन्छ । उपचारको त कुरै छाडौं । त्यसैले यो परिस्थिति आउनुभन्दा अगाडि नै सरोकारवालाहरु सचेत हुनु जरुरी भइसकेको छ । कोरोना भाइरसको संभावित संक्रमण जिल्लामा रोक्न सबैले फेसबुके प्रचारबाजी छाडेर साँच्चिकै काम गर्ने बेला आएको छ । यो परिस्थिति रोक्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारको काँधमा छ ।
नागरिकहरुको पनि राज्यले लिएका नीतिको पालना गर्नु प्रमुख दायित्व हो । राज्यले लिएका नीति पालन नगर्दा हामी कोरोनाको संभावित संक्रमणको थप जोखिममा हुन्छौं । त्यसैले आजैदेखि सबैले राज्यले कोरोनाको संक्रमण रोक्न लिएका नीतिलाई पालना गरौँ । कोरोनाबाट बच्ने उपायहरु अबलम्बर गरौं । आफू बचौं, अरुलाई बचाऔं । कोरोना नियन्त्रण सम्भव छ ।