ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले गत चैत ११ गतेदेखि लागु हुनेगरी जारी गरेको आदेश आउँदो २५ गतेसम्मका लागि थप गरेको छ । कोरोना भाइरसको संभावित संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न कार्यालयले आज अर्थात मंगलबारदेखि लागू हुनेगरी आदेश थप गरेको जनाएको छ ।
आदेशमा औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाइएको छ । कार्यालयले यसअघिकै आदेश बमोजिम आदेश लागु हुने जनाएको छ ।
यसअघिको आदेशमा कार्यालयले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र एम्बुलेन्सबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । कार्यालयले मोटरसाइकल समेत सञ्चालनमा रोक लगाइएको थियो ।
स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा भने सञ्चालन गर्न दिइएको थियो । यस्तै अस्पताल, स्वास्थ्य संस्था, औषधि पसलहरु र पेट्रोलपम्प २४सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको थियो ।
आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने बताइएको छ । संयमित भएर आवश्यक सहयोग गर्नु/गराउनु हुन समेत प्रशासनले अनुरोध गरेको छ ।