यो स्तम्भ लेखेपछि दुई वटा प्रश्न आउन सक्छन् । पहिलो, मेरो सिंहदरवारको सिंहावलोकन किन सिद्धिचरणबाटै ? र दोस्रो, यसका नकारात्मक पाटो मात्रै छन् ? यसको सैद्धान्तिक जवाफ यो हो कि सिद्धिचरणलाई एउटा मानवसँग दाँज्दा सारपक्ष मान्छेको मुटु र रुप पक्षचाँही अनुहार हो । यसर्थ यो स्वच्छ मुटु भएको सुन्दर मान्छेजस्तो हुनुपर्छ ।
सिद्धिचरण नगरपालिकालाई सार र रुप दुवै पक्षबाट अध्ययन गर्ने जो कोहीले सिंगो ओखलढुंगालाई नै साँगोपांगो रुपबाट चित्रण गर्छन् । यो सबैको प्रथामिकता र चासोमा छ । त्यसमा म पनि पर्छु । दोस्रो, यहाँका समस्याबाट उठान गर्दा समाधान गर्ने अधिकारीहरुलाई दवाव पर्छ, र सुधार हुन्छ भन्ने अपेक्षा छ । यो आलेखको उद्देश्य नै त्यही हो । यसले कसैलाई व्यक्तिगत रुपमा पार्ने असरप्रति सरोकार राख्दैन, किनकी यो सामुहिक सरोकारको सवाल हो ।
अब ओखलढुंगाको मुटु भनिएको सिद्धिचरण नगर साँच्चै कस्तो छ त ? यसबाट चर्चा गरौं । नगरपालिका प्रवेश गर्नासाथ जंगलका बीचमा राजमार्गमै सवारी रोकिन्छन्, र हामी नगरबासीहरुले उत्सर्जन गरेको फाहोरको डंगुर हेर्दै मुख बिगारेर मलमुत्र त्याग गर्छौं । बजारक्षेत्रमा पानी पर्दा हिलो र नपरेको दिन धुलोले हैरानी व्यहोर्नुपर्छ । सदरमुकामका ढल, बाटो, वधस्थल लथालिंग छन् । असारे विकास बर्षेनी हुन्छ, अर्को असारसम्म टिक्दैन । खानेपानीका पाइपमा हिलो र चेपागाँडा बगेर आइपुग्छन् ।
घुमिफिरी रुम्जाटार भन्ने उखानले नै चर्चामा रहेको सिद्धिचरणको मुटु पूर्वतर्फ रुम्जाटार छ । त्यहाँका आधा घर खाली छन् । सुन्तलाका पुराना बोट धमाधम मरे । नयाँ रोपिएका छैनन् । भेडा मासिएर राढीपाखीले परम्परा धान्न धौ धौ छ । नेपालको प्रजातन्त्रभन्दा पुरानो धावन मार्गमा जहाज नआएको पाँच वर्ष पुग्नै लाग्यो । कालोपत्रे भएको विमानस्थल सेल्फी स्पट र बेला बेला सम्भ्रान्तहरुले देखाउन ल्याउने जहाज अवतरणस्थल मात्रै बनेको छ, आकस्मिक अवतरण बाहेक ।
बर्णालु र जन्तरखानीका आलुले बजार राम्रो पाउँदैनन् । किसानले उत्पादन गरेर तरकारी बजार ल्याउन सकस छ । तर, बर्षेनी करोडौंका भारतीय तरकारी हाम्रा भान्छामा पाक्छन् । सडकमा जोडिएका सडक बत्ति दुई महिनापनि टिक्दैनन् । ढलका स्ल्याब ‘तीन महिने’ मात्रै हुन्छन् ।
बर्षा लागेपछि सडक बन्द हुन्छन्, र पनि असारैसम्म धमाधम सडक नै निर्माण भइरहेका छन् । विगुटारमा तरकारी कुहिन्छ, तलुवा र ठूलाछापमा खानेपानी छैन । सिद्धिचरण कृषि उत्पादनका अथाह संभावना बोकेर पनि दिगो योजना नपाएको, देख्दा हरियाली देखिने भित्र सुख्खाग्रस्त अवस्थामा पुगेको छ । नगरभित्रका गाउँमा पानीका मुहान सुक्दैछन्, टुकीले पालो पाएको छैन, रत, यसले आफ्नो पहिचान बनाएको छ !
यतिसम्म पढिसक्दा जिम्मेवार अधिकारीहरुले पत्रिका फाल्ने धैर्यता गुमाएनन् भने चाँही केही संभावनाका पाटाहरु पनि यहाँ उल्लेख भएका छन्, जसले तिनका घैंटामा उज्यालो छिराउन मद्दत गर्छ ।
यसरी बनाउन सकिन्छ समृद्ध
तलुवा, ठूलाछाप र ज्यामिरेमा खानेपानीको ठूलो समस्या छ । मुहान छैनन् । भएका सुकेका छन् । यसको विकल्प बृहत आकाशे पानी संकलन केन्द्र निर्माण गरेर वर्षाद्मा जम्मा भएको पानी शुद्धिचरण गरेर वितरण गर्न सकिन्छ । सुख्खाग्रस्त वन तथा सार्वजनिक स्वामित्वका जग्गाहरुमा रिर्चाज पोखरीका रुपमा आहाल निर्माण गरेर बर्षाभरि पानी जम्मा गर्दा पुराना मुहानहरु जोगाउन सकिन्छ । तलुवा, ठूलाछाप र रुम्जाटारमा बृहत पम्पिङ योजना बनाएर सिंचाइ गर्दा व्यवसायिक कृषिको विकासमा योगदान गर्न सकिन्छ । सदरमुकाम र आसपासमा निर्माणाधीन सह लागनीको खानेपानी आयोजनालाई बृहत र थप व्यवस्थित गर्दै शुद्धिकरण र वितरण प्रणाली व्यवस्थित गर्दा घना क्षेत्रको खानेपानी समस्या समाधान गर्न सकिन्छ ।
कृषितर्फ सिद्धिचरण नगरलाई विभिन्न पकेट क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । रुम्जाटारलाई माटोको अम्लियपना सन्तुलन बनाएर लिची तथा सुन्ताला जोन बनाएर विकास गर्न सकिन्छ । बर्णालु, जन्तरखानी र विगुटारलाई अर्गानिक आलु जोनका रुपमा विकास गर्दै बुङको आलुको ब्राण्डिङ गर्दा विदेश निर्यात गर्न सकिन्छ । ज्यामिरेलाई अकबरे जोनका रुपमा विकास गर्दा सफल हुन सकिन्छ ।
अन्य वडाहरुमा माटो परिक्षणपछि व्यवसायिक कृषिका योजना चलाउन सकिन्छ । यसले खाद्यन्न आयत कम गर्दै आत्मनिर्भरताको बाटोमा पुग्न सकिन्छ ।
यहाँ धेरै ठाउँमा स्कुस उत्पादन हुन्छ । यसको साग र जरा दुवै तरकारीको लागि अब्बल र सबैतिर रुचाइएको छ । बाँझाबारी, पाखा तथा चिस्यान र माटो भएका सामुदायिक वनहरुमा स्कूस रोपेर साग, दान तथा जरा निकासी गर्न सकिन्छ । जरा तथा दाना सुकाएर पिठा बनाएर ढिडो तथा दालका रुपमा समेत प्रयोग गर्न सकिन्छ । सिद्धिचरणका सामुदायिक वन तथा बाँझा बारीमा स्कूस रोप्ने अभियान नै चलाएमा विस्कुट ल्याउने ट्रकमा स्कुस निर्यात गर्न सकिन्छ ।
बजार क्षेत्रलाई पर्यापर्यटनका लागि सफा राखेर आन्तरिक तथा बाह्य पर्यटक तान्ने कला संस्कृतिको संग्राहलय बनाउन सकिन्छ । स्रष्टापार्कलाई थप व्यवस्थित बनाउने, थामडाँडामा विशाल चैत्य निर्माण गर्न सके धार्मिकस्थलका रुपमा विकास गर्दा बौद्धमार्गीहरुको धाम बनाउन संभव छ । लगलगेमा थप संरचना विकास गरेर सल्लेरी ज्यामिरे, जन्तरखानी र रुम्जाटारमा होमस्टे भिलेज बनाउन सकिन्छ ।
सबै वडाहरुमा सडक सुविधा तथा नगर रिङरोडको विकास गरेर यातायातको व्यवस्थित विकास गर्न सकिन्छ । यसका लागि सडक गुरु योजना निर्माण गरेर जथाभावि डोजर लगाउन बन्द गर्नुपर्दछ ।
दुधकोशी किनारदेखी हिमपात क्षेत्र नगरपालिकाभित्रै पर्छ । यहाँ हलेसीलाई पत्ताले जोड्न बाह्रचाँदे तलुवाबाट निसंखे रुम्जाटार चायाथान केवलकारको दिर्घकालीन योजना अघि सारेर हलेसी आएका धार्मिक पर्यटकलाई रुम्जाटारको गुम्वाहुँदै सगरमाथा दर्शन गराएर पठाउन सकिन्छ । बेशक्याम्प जाने पर्यटकहरुलाई काठमाण्डौ–ओखलढुंगाको सडकमार्गबाट ल्याएर रुम्जाटार हुँदै नाम्चेसम्म हेलिकोप्टरबाट पठाउन सकिन्छ । यहाँ फ्यूल सेन्टरको पनि संभावना छ ।
श्रष्टापार्क आएका व्यक्तिलाई थामहाँडा घुमेपछि धनेपु हुँदै सेप्ली झर्ना देखाएर जन्तरखानीका गुफा घुमाएर होमस्टेमा राख्न सकिन्छ । यसले आन्तरिक पर्यटनको विकास हुन्छ । विदेशीहरुलाई आकर्षित गर्न पर्यटकीय पदमार्गका रुपमा चायाथानमा जोडेमा थप प्रभावकारी हुनसक्छ ।
नगर क्षेत्रका शैक्षिक संस्थालाई प्रविधीमैत्री बनाउँदै व्यवसायिक र प्राविधक शिक्षालाई विस्तार गर्न जरुरी छ । स्नातक र स्नातकोत्तर तहसम्मको क्याम्पसलाई आंगिक बनाइ दक्ष जनशक्ति उत्पादन गर्दै अनुसन्धान केन्द्रका रुपमा ओखलढुंगा क्याम्पसलाई विकास गर्न सकिन्छ । निशुल्क र गुणस्तरीय माध्यमिक शिक्षा शुनिश्चित गर्न नयाँ शैक्षिक नीति ल्याएर कार्यन्वयन गर्नुपर्छ । छात्रा तथा फरक क्षमता भएका व्यक्ति अनुकुलका शिक्षण संस्था बनाउनुपर्छ ।
रुम्जाटार अस्पतालमा अत्याधुनिक उपकरणसहित सबैखाले रोगको उपचार हुने अस्पतालका रुपमा विकास गर्न सकिन्छ । निशुल्क औषधी समयमै खरिद तथा वितरण, स्वास्थ्योपचारका गर्न नसक्ने नागरिकहरुलाई स्वास्थ्य विमा, कृषकहरुका लागि बाली तथा पशु विमा अनिर्वाय गर्ने नीति कार्यन्वयन गर्नुपर्छ । असारे विकास रोकिनुपर्छ । गुणस्तरीय र समयमै विकासका काम हुनुपर्छ । यी कामका लागि गुरु योजना बनेर लागू हुन् । नगरपालिकाबाट पाउने सेवा पारदर्शी र गुणस्तरीय होस् । आर्थिक अनियमितता शुन्य बनाउन सबै लागौं । सेवाग्राही सेवा लिएर फर्किदा सेवाप्रदायकलाई धन्यवाद दिएर फर्किने वातावरण बनोस्, अनि हामीले भन्ने गरेको समृद्ध सिद्धिचरण वास्तवमै समृद्ध बन्छ, होइन र ?