ओखलढुंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कोरोना भाइरसको महामारीका बेला जनतासँग नरहेको पाइएको छ । गाउँपालिका अध्यक्ष रुद्र अधिकारी र उपाध्यक्ष दुर्गादेवी तामाङ सरकारले लकडाउन गर्नुभन्दा अघिल्लो दिन नै गाउँपालिको केन्द्र छाडेर हिँडेको पाइएको हो ।
विपतका बेला गाउँपालिका छाडेर हिँडेपछि अध्यक्ष र उपाध्यक्ष दुवैको तीव्र आलोचना भइरहेको छ । अध्यक्ष अधिकारी लकडाउनमा परेँ भन्ने बहाना बनाएर काठमाडौँस्थित घरमा बसेको स्रोतले बताएको छ । गाउँपालिकाका कर्मचारीहरुले पनि यसको पुष्टि गरेका छन् । 'अध्यक्षज्यू विरामी छु भन्ने कुरा पनि भन्दै हुनुहुन्थ्यो,' गाउँपालिकाका एक जिम्मेवार कर्मचारीले ओखलढुंगाखबरलाई भने, 'लकडाउनमा परेपछि उहाँ पालिकामा नआउनुभएको हो ।'
उपाध्यक्ष तामाङ भने लकडाउन सुरु हुनुभन्दा अघि गाउँपालिकाबाट अनुगमनमा सहभागी भएको पाइएको छ । तर अहिले तामाङ पनि सम्पर्कविहीन छिन् । उनी लकडाउन अवधिभर गाउँपालिकामा उपस्थित छैनन् । उनी सुनकोसी गाउँपालिका वडा नं २ स्थित घरमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । 'सबै घरतिर जानथाले, म पनि घरतिर जान्छु भनेपछि जानुन त भनेर पठायौँ ।' कार्कीले भने । गाउँपालिकाका स्वास्थ्य संयोजक गोपालबहादुर कार्कीले भने उपाध्यक्ष काठमाडौँ वा घर कहाँ गएको भन्ने थाहा नभएको बताए ।
जनतालाई सुख दु:खमा साथ दिन्छु भनेर चुनाव जितेका अध्यक्ष र उपाध्यक्ष नै यसरी गैह्रजिम्मेवार बनेर विपतका बेला गायब बनेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । 'अध्यक्ष र उपाध्यक्ष दुवै जानीजानी कोरोनाको डरले भागेका हुन्, ' सुनकोसी गाउँपालिका ३ का एक अगुवा स्थानीयले नाम नबताउने शर्तमा भने, 'उहाँहरु नै गाउँपालिकामा नहुने हो भने हामी कसरी बस्ने ?'
सुनकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा नभएपछि गाउँ कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन । कोरोना सम्बन्धी महत्त्वपूर्ण निर्णय गर्नुपर्ने बेलामा अध्यक्ष र उपाध्यक्ष गायब बनेको गाउँ कार्यपालिका सदस्यहरुको आरोप छ । 'हेर्नु न अहिलेसम्म कोरोना सम्बन्धी गाउँपालिकाको एउटै बैठक बसेको छैन,' एक गाउँ कार्यपालिका सदस्यले भने, 'अध्यक्ष र उपाध्यक्ष दुवै केन्द्रमा छैनन्, यस्तो बेलामा कसरी बैठक बस्नु ?'
गाउँपालिकाका अर्का कार्यपालिका सदस्यले भने विपतका बेला यस्तो र उस्तो भन्नुभन्दा खुरुखुरु आफ्नो काम गर्नु नै उपर्युक्त भएकाले सोही अनुसार आफूले गरिएको बताए । 'अरुले के गर्छन् भन्नुभन्दा आफूले के गरेँ भन्नेमै मेरो ध्यान छ' ती सदस्यले बताए ।
कर्मचारीले धान्दैछन् सुनकोसी गाउँपालिका
सुनकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै गाउँपालिकामा नभए पनि कर्मचारीहरुले भने आफ्नो दायित्व निर्वाह गरिरहेका छन् । कोरोनाको संभावित संक्रमण हुन नदिन र रोकथाम तथा उपचारमा केन्द्रित हुने बेलामा गाउँपालिका अध्यक्ष र उपध्यक्ष गाउँपालिकामा नभए पनि कर्मचारीहरुले हारगुहार गरेर केही औषधि, माक्स, स्यानिटाइजर र स्वास्थ्यकर्मीले लगाउने पीपीई व्यवस्था गरेका छन् । गाउँपालिकाकामा भएका ५ वटा स्वास्थ्य संस्था र ७ वटा हेल्थ युनिटमा १ सय ५० वटाका दरले माक्स, ५०-६० वटाका दरले ग्लोब्स वितरण गरेका छन् ।
पालिकाले ८ वटा स्वास्थ्यकर्मीले लगाउने पीपीआई समेत वितरण गरेको छ । अब गाउँपालिकाभर कम्तीमा ३२ वटा पीपीआई अभाव रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक गोपालबहादुर कार्कीले बताए । यस्तै गाउँपालिकाले केही थान साबुन र सेनिटाइजर वितरण गरेको जनाएको छ । गाउँपालिकामा थर्मल गन अभाव रहेको छ ।
'हामीले गाउँकै भाइहरुलाई परिचालन गरेर केही औषधि र सामग्री ल्याउन सफल भयौँ,' प्रमुख प्रशासकीय अधिकृत कार्कीले भने, 'औषधिलगायतका अन्य वस्तुहरु खरिद गर्न गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नहुँदा समस्या छ ।'
सक्रिय बने वडाध्यक्ष
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा नभएपनि गाउँपालिकाका वडाध्यक्षहरु भने निकै सक्रिय रहेका छन् । गाउँपालिकाको निर्णय नै नपर्खी वडाध्यक्षहरुले धमाधम क्वारेन्टाइन तयार गरिरहेका छन् । हालसम्म ५५ वटाको संख्यामा क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए ।
बजेट नभएपछि स्थानीय स्रोत सामग्रीहरुको प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरिएको वडाध्यक्षहरुको भनाई छ । बजेट नभएपछि क्वारेन्टाइन कामचलाउ मात्रै बनाइएको उनीहरु बताउँछन् । धेरैजसो क्वारेन्टाइनमा मन्जन, ब्रस, साबुन, बाल्टी, डस्पिन, स्यानिटाइजर, औषधि केही पनि व्यवस्था नगरिएको स्वयं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्की स्वीकार्छन् । गाउँपालिकाले अध्यक्ष र उपाध्यक्ष नहुँदा जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन गरेको सामग्रीहरु समेत खरीद गर्न सकेको छैन ।
जिम्मेवारी तोकिएन
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै नहुँदा पनि गाउँ कार्यपालिका सञ्चालनका लागि कसैलाई जिम्मेवारी तोकिएको छैन । जिम्मेवारी तोक्ने विषयमा समेत छलफल नभएको पाइएको छ । 'देशमा आफू नसक्दा प्रधानमन्त्रीले समेत अरुलाई जिम्मेवारी तोकेका छन्,' एक गाउँ कार्यपालिका सदस्यले भने, 'कसैलाई जिम्मेवारी तोकिएको भए धेरै काम गर्न सकिन्थ्यो ।'
नेकपाले भन्यो अध्यक्ष र उपाध्यक्ष कहाँ छौँ ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनकोसी गाउँपालिका कमिटी मूलखर्कले अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा नरहेको विषयमा विज्ञप्ति सार्वजनिक गरेको छ । सो कमिटीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जहाँ जुन अवस्थामा रहेपनि तुरुन्त जनतालाई स्थानीय सरकारले राहत घोषणा गर्न अनुरोध गरेको छ । विपतका बेला गाउँपालिकाले जनसरोकारको विषयमा काम गर्न नसकेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा गाउँपालिकाले विना पूर्वाधार क्वारेन्टाइन निर्माण भइरहेको ठोकुवा गरेको छ । यस्तै गाउँ कार्यपालिकाको बैठक नै नबसी केही खरीद गरिएका सामग्री गैह्रकानुनी रुपमा खरिद गरिएको समेत दाबी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनकोसी गाउँपालिका कमिटी मूलखर्कका सचिव नवराज खड्का हस्ताक्षरित विज्ञप्तिमा सबै सुनकोसी गाउँपालिकावासीहरुलाई कोरोनाबाट सुरक्षित रहन समेत आग्रह गरिएको छ ।
के भन्छन् त अध्यक्ष र उपाध्यक्ष ?
सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारी काठमाडौँमै रहेको फोन सम्पर्कबाट पुष्टि गरे । उनले लकडाउन भन्दा अगाडि नै कामठाडौँ गएको भएपनि बीचमा विरामी परेकाले नफर्किएको बताएका छन् । ओखलढुंगाखबरसँग कुरा गर्दै उनले काठमाडौँमा रहँदा पनि आफूले गाउँपालिकाको काम गरिरहेको र औषधिलगायतका अत्यावश्यकीय वस्तुहरु वस्तुहरु व्यवस्थापकीय काममा जुटेको दाबी गरे । उनले आफू निको भएको र विहीबार ओखलढुंगा फर्कने समेत बताए । आफू फर्किएपछि तुरुन्तै बैठक बसाल्ने समेत उनको भनाई छ ।
उपाध्यक्ष दुर्गादेवी तामाङसँग भने बारम्बार फोन गरिए पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन ।