ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले काठमाडौँ उपत्यकामा रहेका चम्पादेवी गाउँपालिकाका नागरिकलाई राहत वितरण गरेको छ । कोरोना भाइरसका संभावित संक्रमणका कारण सरकारले गरेको लकडाउनमा फसेका नागरिकहरुलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।
गाउँपालिकाले दैनिक ज्यालादारी मजदूरी गर्दै आएका चम्पादेवीकै नागरिकहरुलाई राहत स्वरुप खाद्यान्नलगायतका वस्तुहरु वितरण गरेको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए । राहत वितरणमा गाउँपालिका अध्यक्ष नवराज केसी र गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष अजय लुइटेल आफैँ सक्रिय भएर लागेका छन् । गाउँपालिकाले काठमाडौँका लुभु, बाैद्ध, गौरीघाट, कुमारीगाल, बाेडे, मेलबाराही, लगनखेल, सुन्धारा, साँखु, कपन, सीतापाइला, कीर्तिपुर, चण्डोल, पेप्सीकोला लगायतका क्षेत्रमा रहेका २ सय भन्दा बढी परिवारलाई राहत वितरण गरेको अध्यक्ष केसीको भनाइ छ ।
गाउँपालिकाले मापदण्ड बनाएर गाउँपालिकाका नागरिकलाई प्रतिव्यक्ति १० केजीका दरले दाल चामल उपलब्ध गराएको छ । लगडाउनका कारण पर्याप्त खाद्यान्न खरिद गर्न र दैनिकी श्रम गरेर दैनिकी छाक टार्नु पर्ने अवस्था तथा न्यून आय भएका बिपन्न परिवारहरुलाई आपतकालीन रुपमा केहीहदसम्म राहत पुर्याउने हेतुले सहयोग गाउँ कार्यपालिकाका प्रवक्त एवं वडा नं ८ का वडाध्यक्ष अजय लुइटेलल बताए ।
गाउँपालिकाभित्रका नागरिकलाई राहत प्याकेज घोषणा गरिँदै
चम्पादेवी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका नागरिकलाई समेत राहत घोषण गर्ने भएको छ । जसका लागि भोलि गाउँपालिकाको आकस्मिक गाउँ कार्यपालिका बैठक बस्दैछ । गाउँपालिकाले अहिले राहत प्याकेजका लागि वडा वडाबाट तथ्यांक संकलन गरिरहेको जनाएको छ ।
हेरौँ चम्पादेवीले राहत वितरण गरेका केही तस्बिरहरू