ओखलढुंगा । कोरोना भाइरसको संक्रमण हुन नदिन खिजीदेम्बा गाउँपालिका निकै सक्रिय छ । खिजीदेम्बा गाउँपालिका अध्यक्ष बेदबहादुर रोका आफैं फिल्डमा खटिएर काम गरिरहेका छन् ।
सुजबुझका साथ निर्णय गर्न सक्ने पहिचान बनाएका अध्यक्ष रोका नागरिकका घरदैलोसहित गाउँपालिकाले स्थापना गरेका सहायता कक्ष र क्वारेन्टाइन निरीक्षणका लागि दैनिक रुपमा पुग्ने गरेका छन् । प्रचारप्रसारमा आफैं खटिने गरेका छन् । निरीक्षणका क्रममा अध्यक्ष रोकाले स्थानीयको अवस्थाका बारेमा जानकारी लिने र सम्बन्धित निकायका अधिकारीलाई आवश्यक निर्देशन दिने गरेका छन् ।
खिजीदेम्बाले कोरोना नियन्त्रणमा गरेका प्रयासहरु-
चेतनामुलक सन्देश
नागरिको चेतना विस्तार नै कोरोना नियन्त्रणको मुख्य उपाय हो भन्ने भावनालाई आत्मसाथ गर्दै खिजीदेम्बाले प्रचार प्रसारलाई पहिलो प्राथमिकतामा राखेर ब्यापक रुपमा प्रसारप्रचारको अभियान चलायो । प्रचारप्रसारको क्रममा कोरोना लाग्न नदिन अपनाउनु पर्ने सावधानी रेकर्ड गरिएको अडियो सामाग्री प्रत्येक वडाको टोलटोलमा बजाई आम नागरिकहरुलाई जानकारी दिने काम गरिएको गाउँपालिकाले जनाएको छ । यसै गरि प्रचारप्रसारकै क्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रलयबाट जारी गरिएको सन्देशमुलक पोस्टर र हाते पुस्तिका गाउँपालिकाले सीआरएस नेपाल र अन्य संघ सस्थाको सहकार्यमा छपाई टोलटोलमा वितरण समेत गरेको छ ।
सहायता कक्षको स्थापना
खिजीदेम्बा गाउँपालिका प्रबेश गर्ने मुख्य नाका लिम्तीसहित ११ ठाउँमा सहायता कक्षको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । सहायता कक्षमा बाहिरबाट आएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेरमा मात्रै गाउँपालिका प्रबेश गराइने र टोलटोलमा रहेका व्यक्तिहरुमा रुघाखोकी र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा क्वारेन्टाइनमा पठाउने व्यवस्था रहेको खिजीदेम्बा गाउँपालिकाका स्वास्थ्य प्रमुख इन्द्रप्रसाद गौतमले बताए ।
वडैपिच्छे क्वारेन्टाइन
खिजीदेम्बा गाउँपालिकाले गाउँपालिकाभरि सबै वडामा ५ वटाका दरले ४५ वटा र अरु थप गरेर ५८ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।
वडैपिच्छे सूचना केन्द्र
कोरोना भाइरसका बारेमा विभिन्न सूचना आदनप्रदानका लागि गाउँपालिकाले प्रत्येक वडामा सूचना केन्द्रको स्थापना गरेको छ । गाउँपालिकामा अन्यत्रबाट कति मानिस प्रबेश गरेका छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने कुराको जानकारी प्रत्येक सूचना केन्द्रबाट लिई आवश्यकता अनुसारको पहल कदम चालिने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
लकडाउन अगावै पीपीईका सामाग्री उपलब्ध
देशैभर स्वास्थ्यकर्मीले लगाउने पीपीईको अभाव भइहेको बेला खिजिदेम्बा गाउँपालिकाले भने लकडाउन अगावै यो सामग्रीको जोहो गरिसकेको थियो । गाउँपालिकाले हरेक स्वास्थ्य कार्यलय, क्वारेन्टाइन र साहायता कक्षमा रहेर काम गर्ने स्वास्थ्य कर्मचारीहरुका लागि पीपीईका सामाग्री बितरण गरेको छ ।
वडाध्यक्षलगायत जनप्रतिनिधिहरु सक्रियता
खिजीदेम्बा गाउँपालिका र अध्यक्ष वेदबहादुर रोकाको मिसन पुरा गर्न वडाका वडाअध्यक्षहरु तल्लिन भएर लागेका छन् । सबै वडाध्यक्षहरु गाउँपालिकाको निर्देशनको पालना गरी आफू टोलटोलमा खटिरहेका छन् । उनीहरुले आफ्ना वडामा नमुना काम समेत गर्दै आएका छन् ।
स्वास्थ्य प्रमुख र स्वास्थ्यकर्मीको अटुट साथ
गाउँपालिकाले लिएका कोरोना नियन्त्रणका हरेक क्रियाकलापका सारथि बनेका छन गाउँपालिका स्वास्थ्य प्रमुख इन्द्रप्रसाद गौतम । उनले कुनै जानकारी आउन साथ अध्यक्षलगायत वडा अध्यक्षहरुलाई जानकारी गराउँदै आएका छन् र आफ्नो माताहतका कर्मचारीहरुलाई सधैँ तैनाथ राख्ने गरेका छन् । उनी कुनै टोल वा वडाबाट कुनै जानकारी आउनसाथ खटिन्छन् र त्यो ठाउँको अवस्थाको बारेमा थप जानकारी लिने गरेका छन् । कोरोना नियन्त्रणमा खिजिदेम्बा सबै स्वास्थ्यकर्मीको साथ प्रसंशायोग्य छ ।
कार्यपालिकाको बोल्ड निर्णय
कोरोना भाइरसको संभावित संक्रमण हुन नदिन खिजिदेम्बा गाउँपालिकाले नमुना निर्णय गरेको छ । गत चैत १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँपालिकाकै विपद् कोषमा १ महिनाको सुविधा सहयोग गर्ने निर्णय गर्यो । जतिबेला जिल्लाका अरु गाउँपालिकाले यस्तो निर्णय गरेकै थिएनन् । त्यस्तै गाउँपालिकाले खिजीदेम्बावासीहरुको रक्षाका लागि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गर्नेजस्ता दर्जनौं महत्वपूर्ण निर्णय गरेको थियो ।
(यसअघि राखिएको गाउँपालिका भवन र खिजिदेम्बाका अध्यक्ष जोडिएको तस्बिर गाउँपालिकाकै अध्यक्षको अनुरोधमा हटाइएको छ । उक्त तस्बिरको ठाउँमा गाउँपालिकाको भवनको तस्बिर सम्पादन गरेर परिवर्तन गरिएको छ । -सम्पादक)