ओखलढुंगा । चम्पादेवी गाउँपालिका १० रानीवनस्थित लहार्ने एग्रो कृषि फर्मका सञ्चालक तेजेन्द्र विष्टले २ हजार लेयर्स कुखरा पालेका थिए । आम्दानी राम्रै थियो । तर कोरोनाको महामारीले लकडाउन भएपछि अहिले उनका कुखुरा भकाभक मर्न थालेका छन् । औषधि उपचार र दाना नभएपछि कुखुरा मर्न थालेको विष्टको भनाई छ । गाउँमा चारो ल्याउन नपाएपछि अहिलेसम्म ४ सयको हाराहारीमा कुखुरा मरिसकेको उनले गुनासो गरे । कोरोनाको महामारीका कारण बचेका कुखुरा र अण्डा पनि बिक्ने अवस्था नभएको उनको दु:खेसो छ ।
चम्पादेवी गाउँपालिका ७ मा जितेन्द्र कार्कीले सञ्चालन गरेको शेराबेँसी कृषि एग्रोभेट प्रालिको हविगत पनि उस्तै छ । २५ लाखको लगानी गरेर उनले १ हजार लेयर्स र ८ सय बोइलर कुखुरा पालेका थिए । उनले फर्मबाट गाउँतिर कुखुराका दाना र चल्ला पनि बेच्ने गर्थे । तर अहिले लकडाउनले गर्दा उनको व्यवसाय धराशायी बनेको छ ।
सो क्षेत्रमा लेयर्स कुखुरापालक किसान विष्ट र कार्की मात्रै हुन् । उनीहरुले लेयर्स कुखुरालाई खुवाउने दाना मन्थली र सिन्धुलीबाट ल्याउँदै आएका थिए । अहिले दाना बजारमा नपाउँदा उनीहरुलाई समस्या छ ।
चम्पादेवीको घोराखोरी आसपासमा महिनामा २ ट्याक्टर बोइलर र लेयर्स कुखुराका दाना खपत हुने गरेको थियो । रामेछाप सदरमुकामबाट ल्याइँदै गरेको चारो सीमित पाउन थालेपछि अहिले यो क्षेत्रका किसान मारमा परेका छन् ।
कुखुराको चारो पनि नपाइने र कुखुराको अण्डा र मासु पनि बिक्री नहुने भएपछि यहाँका किसान दोहोरो मारमा परेका हुन् । 'चारो त पाइएन तर कुखुराको मासु र अण्डा पनि नबिक्ने भयो,' लहार्ने एग्रो कृषि फर्मका सञ्चालक विष्ट भन्छन्, 'ऋण गरेर कृषि गरियो, अहिले आएर लाखौँ डुबियो ।'
विष्टले नबिकेपछि ५० कार्टुन अण्डा नष्ट गर्ने तयारी गरिरहेको बताए । उनले समस्या समाधानका लागि चम्पादेवी गाउँपालिका, उद्योग वाणिज्य संघलगायतका कार्यालयसँग हारगुहार गरेपनि समाधान नभएको बताए । उनले सो क्षेत्रका दर्जन बढी किसान समस्यामा परेको उनको भनाई छ ।