ओखलढुंगा । शनिवार बसेको चम्पादेवी गाउँ कार्यपालिकाको आकस्मिक बैठकले नागरिक सुरक्षा कोरोना कोष स्थापना गर्ने निर्णय गरेको छ । कोषमा चम्पादेवीका सबै जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा समेत जम्मा गर्ने निर्णय गरिएको छ ।
बैठकले कोष सञ्चालनका लागि गाउँपालिका अध्यक्ष नवराज केसीको अध्यक्षतामा समिति समेत गठन गरेको छ । समितिमा उपाध्यक्ष निर्मलादेवी रैका, स्वास्थ्य संयोजक प्रेमप्रसाद सुवेदी, लेखापाल भोजराज खनाल सदस्य छन् । यस्तै समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । कोषमा चम्पादेवीका कर्मचारीहरुले १५ दिनको तलब जम्मा गर्ने निर्णय समेत गरिएको गाउँपालिकाका प्रवक्त अजय लुइटेलले ओखलढुंगाखबरलाई जानकारी दिए ।
बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न समिति समेत गठन गरेको छ । जसमा कुलबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय राहत संकलन समिति गठन गरिएको छ । अजय लुइटेलको संयोजकत्वमा ९ सदस्यीय राहत व्यवस्थापन संकलन तथा वितरण समिति गठन भएको छ ।
विष्णु पुलामीको संयोजकत्वमा ११ सदस्यीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्ब्नधी जनचेतना उच्च सतर्कता परामर्श तथा सरसफाई समिति बनेको छ । उज्जन बुढाथोकीको संयोजकत्वमा १३ सदस्यीय दैनिक उपभोग्य वस्तु खरीद बिक्री बजार व्यवस्थापन सहजीकरण तथा अनुगमन समिति निर्माण भएको छ । यस्तै चम्पादेवी गाउपालिकाभित्रका कोरोना नियन्त्रण, रोकथाम, उद्दार तथा क्वारेन्टाइन व्यवस्थापन समितिमा प्रेमप्रसाद सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम राहात व्यवस्थापन र वितरण कार्यबिधि २०७६ तत्काल निर्माणका लागि समेत झलकमान तामाङलाई संयोजक बनाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले काठमाडौँ उपत्यकामा रहेर दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका गाउँपालिकाकै नागरिकहरुलाई वितरण गरेको राहत बैठकले अनुमोदन गरेको छ । गाउँपालिकाले दैनिक ज्याला मजदुरी गरेर खाने गरिब जनताका लागि राहत उपलब्ध गराउन आवश्यक काम थालिरहको समेत जनाएको छ ।
हेरौँ कार्यपालिका बैठकका केही तस्बिरहरू-