काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा घर भइ काठमाडौंमा बस्दै आएका अति निम्न वर्गका १० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
ओखलढुंगा घर भई काठमाडौंको हाँडीगाउँमा दैनिक मजदुरी र रोजगारी गर्दै आएका १० जनाको परिवारलाई खतिवडाले शनिवार खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
खतिवडाले चामल, दाल, साबुन, तेल लगायतका खाद्य सामग्री उपलब्ध गराएका हुन् । ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली घए भइ हाँडीगाउँ बस्दै आएका नेत्र बराल, रण बराल, महेश बराल, रमा बराल, मीठू बराल, मनकुमारी बराल, रीता बराल, शुदर भुजेल, नवीन ढुंगेल र मौसम पौडेललाई खाद्य सामग्री वितरण गरेका हुन् ।
खतिवडाले लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका गृहजिल्ला ओखलढुंगाका सर्वसाधारणलाई आफूले सकेको सानो सहयोग गरेको बताए । ‘ओखलढुंगा घर भइ काठमाडौंमा दैनिक मजदुरी गर्दै आएका सर्वसाधारणले मलाई सम्झिएर सहायताका लागि आग्रह गर्नुभयो,’ खतिवडाले भने, ‘मैले व्यक्तिगत रुपमा सक्ने सहयोग गरेको छ ।’
खाद्य सामग्री सहयोग पाएपछि पीडितहरूले कांग्रेस नेता खतिवडालाई धन्यवाद दिएका छन् ।