ओखलढुंगा । सुनकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कार्यक्षेत्रमा नरहेको विषयमा गत १९ गते नेकपा सुनकोसी गाउँपालिका किमिटीको एक विज्ञप्ति सार्वजनिक भयो । सोसँगै ओखलढुंगाखबर डटकमले पनि अध्यक्ष रुद्र अधिकारी र उपाध्यक्ष दुर्गा तामाङ सुनकोशी गाउँपालिकाका जनताको साथ छाडेर हिँडेको समाचार सार्वजनिक गर्यो ।
विज्ञप्ति र समाचार सार्वजनिक भएसँगै कोरोनाको महामारीका बेला गैह्रजिम्मेवार भएर अध्यक्ष र उपाध्यक्ष कार्यक्षेत्रमा नरहेको भन्दै सर्वत्र आलोचना भयो । नभन्दै काठमाडौँ रहेका अध्यक्ष र सुनकोशी गाउँपालिका २ स्थित घरमै बस्दै आएकी उपाध्यक्ष कार्यक्षेत्र फर्किए । शनिबार अर्थात २२ गते कोरोना महामारीको रोकथाम र उपचार सम्बन्धी पहिलो गाउँ कार्यपालिकाको बैठक बसेर सुनकोशी गाउँपालिकाले विभिन्न महत्त्वपूर्ण निर्णय समेत गर्यो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गाउँ फर्किएर कोरोना सम्बन्धी विभिन्न निर्णय गर्दै काम सुरु गरेकोमा उनीहरुलाई नेकपा सुनकोशी गाउँपालिका कमिटीले धन्यवाद दिएको छ । आज अर्थात आइतबार सो कमिटीले एक विज्ञप्ति सार्वजनिक गर्दै समाचार सार्वजनिक गर्ने सञ्चारमाध्यम र सुनकोशी गाउँपालिकाका आम सचेत नागरिकलाई समेत धन्यवाद दिएको छ ।
विज्ञप्तिमा संकटको घडीमा गाउँपालिकावासी जनतालाई तीव्र फैलिरहेको कोरोना भाइरसको भयावह संक्रमणबाट बचाउन नेपाल सरकार र गाउँपालिका स्वयंले आफ्नो स्रोतसाधनबाट तत्काल जनताले राहत अनुभूत गर्ने श्रमिकमुखी राहत प्याकेज सबै सरोकारवालासँगको समन्वयमा पारदर्शी ढंगले तत्काल ल्याउन र गाउँपालिकाभित्रका स्वास्थ्य संस्थालाई आवश्यक उपकरण, औषधिलगायतका सामग्री उपलब्ध गराउन सुनकोशी गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ ।
गाउँपालिका कमिटीका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ र नवराज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा महामारी नियन्त्रणमा अहोरात्र खट्ने सबै पक्षलाई पनि धन्यवाद दिइएको छ । कमिटीले कोरोना सम्बन्धी लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था लैजान, विदेशबाट आएका व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्न, कोरोना संक्रमण नियन्त्रण सम्बन्धी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यक्रमहरुमा सहयोग गर्न र पार्टीको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्न समेत मातहतका पार्टी कमिटीलाई निर्देशन गरिएको छ ।