ओखलढुंगा । ओखलढुंगाका पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका सबै स्थानीय तहलाई मास्क, पीपीई, साबुन, पञ्जालगायतका सामग्री दिन थालेका छन् । उनले व्यक्तिगत खर्च र पहलमा ९ हजार मास्क, २५ वटा पीपीई र दर्जनौँको संख्यामा साबुन, पञ्जालगायतका सामग्री जम्मा गरेर जिल्लाका लागि वितरण गर्न थालेका हुन् ।
खतिवडाले ८ वटै स्थानीय तहलाई १ हजारका दरले मास्क र ३ वटाका दरले पीपीई वितरण गर्ने योजना बनाएको सुनाए । जिल्लामा रहेको एउटा जिल्ला कमाण्ड पोष्टलाई १ हजार मास्क, एउटा पीपीई, साबुन, पञ्जालगायतका सामग्री समेत उनले दिने तयारी गरेका छन् । सोही अनुरुप उनले आज अर्थात सोमबार जिल्लाका दुईवटा गाउँपालिकाई सामग्री हस्तान्तरण गरेका छन् । खतिवडाले खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकालाई १ हजार मास्क र ३ वटा पीपीई हस्तान्तरण गरेका थिए । खतिवडाले लिखु गाउँपालकालाई पनि सोही संख्यामा सामग्री पठाएको ओखलढुंगाखबरलाई बताए । उनले गाउँपालिकालाई हात लाग्ने गरेर सामग्री र लिखुवासीलाई चिठी समेत पठाएको बताए ।
खतिवडाले अन्य स्थानीय तहलाई सामग्री वितरण गर्नका लागि भोलि अर्थात मंगलबार ओखलढुंगा आउने तयारी गरेको बताएका छन् । उनले जिल्ला रहँदा केही स्थानीय तहमा सामग्री हस्तान्तरण गर्न आफैँ जाने योजना समेत बनाएका छन् । उनले जिल्ला सदरमुकाममा सिद्धिचरण नगरपालिका र जिल्ला कमाण्ड पोष्टलाई पनि सामग्री हस्तान्तरण गर्ने तयारी गरेको जनाएका छन् ।
विपदमा रहेका ओखलढुंगेलीलाई राहत स्वरुप आफूले सकेको जति सहयोग गरेको खतिवडाले प्रतिक्रिया दिए । उनले सुखदु:ख जतिबेलै सधैँभरि ओखलढुंगेलीसँगै रहने समेत प्रतिबद्धता जनाए । 'केही माननीयहरु सरकारले पठाएका मास्क बोकेर मैले ल्याएको भन्दै जिल्ला पुगेको सुनेको छु,' खतिवडाले भने, 'म त्यस्तो गर्दिनँ ।'
जितेका सांसदहरुले सबैसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा त्यसो नभएको खतिवडाको भनाई छ । 'यो घडी भनेको तेरो मेरो भनेर बस्ने समय होइन,' उनले भने,'चुनावका दिन राजनीति गरौँ अहिले राजनीतिभन्दा माथि उठेर कोरोनाको सबैले सामना गरौँ ।'