ओखलढुंगा । डकर्मी कामका लागि रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ स्थित शेर्पा गाउँमा पुगेर फर्कने क्रममा थुनिएका ओखलढुंगाका १७ जना र सोलुखुम्बुका एक जना मजदूरले उद्दारको अपिल गरेका छन । लकडाउनका कारण बाटोमै फसेका उनीहरुले घर फर्काइदिन अपिल गरेका हुन् ।
शेर्पागाउँबाट ६ घण्टा पैदल झरेपछि सोही गाउँपालिकाको वडा नं. ३ स्थित स्याब्लुबेँसीमा उनीहरु अहिले रोकिएका छन् । रोकिनेहरुमा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिकाका ११ जना, सिद्धिचरण नगरपालिकाका ३ जना, मोलुङ गाउँपालिकाका २ जना र लिखु गाउँपालिकाका १ जना रहेका छन् । यस्तै सोलुखुम्बुस्थित दूधकुण्ड नगरपालिकाका एक जना रहेका छन् ।
गोसाइँकुण्ड गाउँपालिकाले उनीहरुलाई आज अर्थात मंगलबार बेलुकीसम्म वडा नं ३ को स्याब्लुबेँसीमा बस्ने अनुमति पास दिएको छ । उनीहरु हिजो अर्थात सोमबार शेर्पा गाउँबाट स्याब्लुबेँसी झरेका हुन् । मजदूरहरुलाई गाउँपालिकाले पुनः शेर्पागाउँ नै पठाउने तयारी गरिरहेको सोही समूहमा रहेका एक खिजीदेम्बा गाउँपालिका ९ छेर्मादिनका छिरिङ शेर्पाले ओखलढुंगाखबरलाई फोन सम्पर्कबाट बताए ।
लकडाउनका बेला शेर्पा गाउँमा सुरक्षाकर्मी देख्नेबित्तिकै लुक्दै र उनीहरु गएपछि पुन: काम गर्दै आएका उनीहरु घर बनाउने काम सकिएपछि भने फर्कने क्रममा रोकिएका हुन् । उनीहरुले बास माग्दा पनि गाउँमा बास नपाउने गरेको दुखेसो पोखे ।
गाउँपालिकाले उनीहरुलाई शेर्पा गाउँमै फर्काउनका लागि एक हप्ताको राशनको भने व्यवस्था गरेको शेर्पाको भनाई छ । गाउँपालिकाले उनीहरुलाई ८५ किलो चामल, ५ लिटर तेल, ५ केजी नून, १७ वटा साबुन उपलब्ध गराएको छ ।
'शेर्पा गाउँमा नै फर्किएपनि ठूलो समूह भएकाले कहाँ बस्ने भन्ने नै सबैभन्दा समस्या भयो,' शेर्पाले ओखलढुंगाखबरलाई फोन सम्पर्कमा भने, 'हामीलाई कि त उद्दार गरिदिनुपर्यो, कि त सुरक्षित ठाउँ खोजिदिनु पर्यो ।'
२ महिनाअघि मात्रै रसुवा पुगका उनीहरु लकडाउनपछि काम प्रभावित भएपछि उनीहरुले पैसा समेत कमाउन नसकेको बताएका छन् । गोजीको समेत रित्तिन थालेको शेर्पाको भनाई छ । मजदूरहरुले ओखलढुंगाका सांसद तथा नेताहरुलाई उद्दारका लागि हारगुहार गरेको समेत बताएका छन् ।
उद्दारका लागि पहल भइरहेको छ : सांसद सुनुवार
रसुवामा थुनिएका ओखलढुंगा र सोलुखुम्बुका मजदूरको उद्दारका लागि पहल भइरहेको ओखलढुंगाका सांसद यज्ञराज सनुवारले ओखलढुंगाखबरलाई जानकारी दिए । गृह मन्त्रालयका पदाधिकारी, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी र गोसाइँकुण्ड गाउँपालिकासँग समन्वय भइरहेको र लकडाउन खुकुलो हुनासाथ उनीहरुको उद्दार गरिने सांसद सुनुवारको भनाई छ ।