ओखलढुंगा । ओखलढुंगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा बन्दै गरेको लिखु ४ जलविद्युत् आयोजनाको काम लकडाउनका कारण ठप्पप्रायः छ । सरकारले लकडाउन खुकुलो बनाउँदै ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय गरे पनि आवश्यक कच्चापदार्थ र इन्धन अभाव हुँदा काम सञ्चालन गर्न समस्या भएको आयोजनाले जनाएको छ ।
आयोजनामा काम गर्ने ७ सय ७१ जना भन्दा बढी मजदूरहरुलाई लकडाउनपछि सेल्फ क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई कच्चा पदार्थ नहुँदा काममा फर्काउन नसकिएको आयोजनाका जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक कृष्णदास श्रेष्ठले बताए । आयोजनाले विराटनगर, वीरगञ्जलगायतका ठाउँबाट कच्चापदार्थ ल्याउँदै आएको थियो । अहिले सबै ढुवानी रोकिएको छ । सरकारले ठूला आयोजनाका लागि लकडाउन केही खुकुलो बनाए पनि कच्चा पदार्थ र इन्धन अभावका कारण सबै मजदूरलाई काममा फर्काउन नसकिएको श्रेष्ठको भनाई छ ।
ठूला आयोजनाका लागि सरकारले लकडाउन खुकुलो बनाएपछि स्थानीय प्रशासनले निश्चित मापदण्ड तोकेर काम गर्न अनुमति दिएको छ । कामदारलाई बाहिर निस्कन नदिने नीति बनाएर सुरक्षित र स्वास्थ्यका मापदण्डहरु अपनाएर काम गर्न निर्देशन दिइएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
अहिले आयोजनाको ड्याम बनाउने काम भइरहेको र सो कामका लागि २५ जना मात्रै मजदूर खटाइएको आयोजनाले जनाएको छ । काममा नफर्कने मजदूरलाई सुरक्षित र स्वास्थ्यका सबै मापदण्डहरु अपनाएर आयोजनाले सेल्फ क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
प्रबद्र्धक कम्पनी ग्रीन भेन्चर्स प्रालिले निर्माण गरिरहको लिखु ४ जलविद्युत् आयोजनाको काम दुईवटा ठेकेदार कम्पनीले गरिरहेका छन् । जसअन्तर्गत् सिभिलतर्फको काम गर्ने जिम्मा इन्डियन कम्पनी एसएसएनआरको छ । उक्त कम्पनीले ड्याम साइट र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गरिरहेको छ । यस्तै नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरले पावरहाउस, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गरिरहेको छ ।
दुवै कम्पनीले करिब ६० प्रतिशत् काम सम्पन्न गरेको आयोजनाका जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक श्रेष्ठको भनाई छ । आयोजना सम्पन्न भएपछि खिजिदेम्बा गाउँपालिकाका वडा नं. ३ स्थित विमिरेमा निर्माण हुने ड्यामबाट भूमिगत सुरुङ हुँदै लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने छ । सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेघावाटको रहनेगरी डिजाइन गरिएको थियो । पछि प्रबद्र्धक कम्पनीले उत्पादन क्षमता घटाएर काम अगाडि बढाएको हो ।
मुख्य संरचना ओखलढुंगातर्फ रहेपनि आयोजनाको प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप दुवै जिल्लामा रहेका छन् । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको १ र ३ र लिखु गाउँपालिकाको ९ नं. वडा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको १, २ र ७ नं. वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन् । ३० महिनामा अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजनाका साथ निर्माण सुरु भएको यो आयोजना ५२ दशमलब ४ मेगावाट क्षमताको रहेको छ ।
१० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्रभु बैंकको ७५ प्रतिशत् लगानी गर्ने र आयोजनामा २५ प्रतिशत् लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको आयोजनाका प्रोजेक्ट डेभ्लप्मेन्ट मेनेजर बद्री रिजालले बताए । २०७३ साल असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगष्ट भित्रमा समापन गर्ने लक्ष्य राखिएको थियो ।