आज फेसबुक खोल्ने बित्तिकै छ वर्ष पुरानो मेमोरी (संस्मरण) देखायो । सुनकोशी पुलको ट्रस भताभु¨ लडिरहेको तस्बीर । जुन तस्बीर मैले पुल लडेको सुन्ने बित्तिकै भोलीपल्ट उज्यालो हुँदा पुगेर कैद गरेको थिएँ । सदरमुकाम फर्किने बित्तिकै फेसबुकमा पोष्ट गरेको थिएँ । त्यही तस्बीर मैले फेरी शेयर गरेँ । दुईचारवटा कमेन्ट (प्रतिक्रिया) र रियक्ट (प्रतिक्रियात्मक संकेत) आए ।
पूर्व सांसद बालकृष्ण ढुंगेलको कमेन्ट चाखलाग्दो लाग्यो । ‘यस्तै छ यहाँको चलन, सपना उडाएको ७० वर्ष र पुल उडाएको छ वर्ष’ मैले उहाँलाई रिप्लाई (जवाफ) दिएँ, ‘यो हुन्डरी निकै रहरलाग्यो थियो, नदिकिनारको त्रिपालको छाप्रो नउडाउने तर फलामको पुल उडाउने खालको । समृद्द नेपाल निर्माणको यात्रामा सुनाउन लायक एउटा इतिहास ।’
कमेन्ट र रिप्लाईमा जहाँनिया राणाशासनको अन्त्यदेखि संघीय गणतन्त्र सम्मका हाम्रा विकासे सपनाहरुलाई साँकेतिक अनि व्यंग्यात्मक रुपमा व्यक्त गर्ने कोशिस थियो । लकडाउनको समय कटौनी गरिरहँदा फेरी फेसबुकमै पाँचथरका एक गाउँपालिका अध्यक्षले बल्छी थाप्ने टाँगो जस्तो लौरोबाट राहत दिएको तस्बीरले खित्का छुटायो । त्यतिखेरै ओखलढुंगाकै संघीय सांसद यज्ञराज सुनुवार ज्यूले मास्क लगाईदिँदै गरेको तस्बीर पनि देख्न पाइयो ।
यी तस्बीरहरुमा सर्वसाधारणले गरेको प्रशंसा र आलोचना बराबर छन् । अहिले जनप्रतिनिधिमात्र नभएर आफूलाई समाजसेवाका ठेकेदार मान्ने लठुवाहरु पनि एक पोको नुन पाँच जनाले हस्तान्तरण गरेको तस्बीर खिचाउन तँछाड मछाड गरिरहेको देखिन्छ । मैले यहाँ संकटमा राहत वितरण गर्नु गलत हो भन्न खोजेको होइन । राहतको नाममा सस्तो लोकप्रियताको पछाडी लाग्नु उचित हैन भन्न खोजेको हो ।
अझ जनप्रतिनिधिले त आफुले गरिरहेको काम र त्यो तस्बीरले कस्तो किसिमको सन्देश समाजमा पुग्ला भनेर पूर्व अनुमान गर्नुपर्छ । सामाजिक दुरी कायम गर्नुपर्छ भन्दैमा जनप्रतिनिधि आफैले बल्छी थापे जसरी राहत वितरण गर्नु कत्तिको वैज्ञानिक काम हो ? यसको अन्य विकल्प केही थिएन त ? पक्कै विकल्प छन् । उदयपुरको कटारी नगरपालिकाले विपन्नहरुलाई घरघरमै राहतको प्याकेज लगेर वितरण गरेको दृश्य यस्ता हाँस्यास्पद पक्कै थिएन ।
कोरोना भाईरसबाट जोगिन मास्क बाँड्नु भन्दा मास्क किन लगाउने, कस्तो अवस्थामा लगाउने जस्ता ज्ञान दिनु महत्वपूर्ण काम हुनसक्छ । त्यसपछि मात्र मास्क उपलब्ध गराउन सके राम्रो । सामाजिक सञ्जाल र संचारमाध्यमहरुमा यस्ता भाइरल (छ्यापछ्याप्ती) हुने तस्बीरहरुमा ओखलढुंगा केही वर्षयता अग्रपंक्तिमा छ । चाहे पिर्के सलामी होस् या पिङ उद्घाटन्, चाहे दाँत ठेलेर दन्त शिविर होस् या मास्क वितरण ।
कोही जनप्रतिनिधि संकटका बेला पनि राजधानी बसेर जनताको साथ नदिएको खबर सुनिन्छ । कोही कहाँ छन् के गर्दैछन् भन्ने पनि जनतालाई थाहा छैन । कसैको सक्रियता आवश्यकता भन्दा धेरै देखिन्छ । संकटमा राहत वितरण गर्ने काम २०७२ सालको भुकम्पका बेला पनि शुरुमा लथालि¨ थियो । पछि एकद्वार प्रणाली बनाएपछि मात्र केही व्यवस्थित भयो । त्यस्तै कुनै व्यवस्थित प्रणालीको विकास गर्नुपर्छ । नत्र यहाँ राहतको नाममा सस्तो लोकप्रियताको अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । योजनाबद्ध ढंगले काम गरौँ । सर्वसाधारणले महशुस गर्ने किसिमको काम गरौँ । जुन कामको मूल्यांकन समाजले गर्छ ।
लकडाउनमा अहिलेको आवश्यकता भनेको मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने परिवारको पहिचान गरि उनीहरुलाई दाल, चामल, नुन तेलको जोहो गरिदिने हो । मास्क र साबुन पानी दोश्रो प्राथमिकतामा पर्छन् । सास फेर्नका लागि पहिले अन्न चाहिन्छ । अन्न भयो भने मात्र सास फेरिन्छ । सास फेर्नका लागि चाहिने अन्नपानीको अभावको बेला मुखमा लगाईदिने मास्क पहिलो प्राथमिकतामा पर्न सक्दैन ।
भात भए पो खानुअघि साबुन पानीले हात धुनु । सास भए पो भाइरस प्रवेश गर्ला कि भनेर मास्क लगाउनु । सामान्य रोग लागेका सर्वसाधारणलाई समेत कोरोनाको आशंकामा उपचार नपाएर अकालमा मर्ने हुन् कि भनेर अस्पतालहरुमा खबरदारी गर्नुपर्छ । जनप्रतिनिधिले कामको प्राथमिकताको सूची बनाउन जरुरी छ । स्थानीय तहहरुले अति विपन्न पहिचान गरि राहतको प्याकेज ल्याउनुपर्छ ।
संघ र प्रदेश तहका जनप्रतिनिधिहरुले कोरोना परिक्षण गर्ने उपकरण उपलब्धता, छिटो परिक्षण गराउने जस्ता काममा पहल गर्नुपर्छ । न कि मास्क बोकेर गाउँगाउँमा पुग्दै, मान्छे बिनाको क्वारेन्टाइनको अनुगमन गरिरहनु जरुरी देखिँदैन । जुनसुकै कामको तस्बीर र भिडियो लिईरहनु जरुरी हुन्छ जस्तो पनि लाग्दैन । तस्बीर र भिडियो लिईहालेपनि सामाजिक सञ्जालमा पोष्ट्याउनु अघि सोच्नुपर्ने हुनसक्छ । अन्य लिईदिने व्यक्तिले पनि विना जानकारी बदनाम गर्ने उद्देश्यले पोष्ट्याउनु हुँदैन ।
जनप्रतिनिधि ज्यूहरु तपाईँहरु जनताको प्रतिनिधि हो । तपाईँहरुको तस्बीरमाथी सामाजिक सञ्जालमा भएको टिप्पणी हेर्दा जनतालाई लाज हैन गर्व होस् ।