ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओखलढुंगामा मेडिकल सामग्री वितरण गरेर काठमाडौँ फर्किएका छन् । उनले ओखलढुंगाका सबै स्थानीय तहलाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपाली कांग्रेस ओखलढुंगाका पार्टी सभापति प्रदीपकुमार सुनुवारसहित ओखलढुंगा आइपुगेका खतिवडाले १० हजार मास्क, २७ थान पीपीई सेट, ग्लोब्स, सेनिटाइजर, साबुनलगायतका सामग्री जिल्लाका सबै स्थानीय तह र प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
खतिवडाले यसअघि नै खिजिदेम्बा र लिखु गाउँपालिकालाई काठमाडौँबाट पठाएका थिए । उनी ओखलढुंगा आएर मोलुङ, सिद्धिचरण, मानेभञ्ज्याङ, सुनकोसीलगायतका गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेका हुन् । केही गाउँपालिकालाई खतिवडाले बाहकमार्फत सामान जिम्मा लगाएका छन् ।
प्रदेश सरकारले १ नं प्रदेशमा ३० हजार मास्क वितरण गरेको सुनेपछि मास्क अभाव हुन नदिन एक्लो प्रयासमै १० हजार मास्क हस्तान्तरण गरेको नेता खतिवडाले बताए ।
नेता खतिवडाले ओखलढुंगाका जनता मेरा भगवान समान जनता समान भएकाले कोरोनाको प्रतिरक्षाका लागि ओखलढुंगेली जनतासँगै साथमा रहने बताए ।
मेडिकल सामग्री हस्तान्तरण गर्दै नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला पार्टी सभापति प्रदीपकुमार सुनुवारले कोरोनाको अहिलेसम्म कुनै औषधि नभएकोले आफैंले आफ्नो ख्याल गर्न समेत अनुरोध गरेका थिए ।