ओखलढुंगा । कोरोना प्रभावितलाई राहत वितरण गर्दा दाताले अपनाएका अनेकथरि उपाय सामाजिक सञ्जालमा भाइरल छन् । कसैले बल्छीमा उधिनेर परैबाट राहत दिँदै गरेका छन् । कसैले राहत दिनलाई टाढैबाट लम्किएको पोजका तस्बिर सार्वजनिक भएका छन् । कोरोनासँग सम्बन्धित नै नभएपनि राहतस्वरुप एउटा कोसो केरा सामुहिक रुपमा दिँदै गरेको तस्बिर झन् भाइरल छ ।
यस्तै झल्को दिनेगरी हाम्रै ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले पनि मास्क लगाइदिँदै गरेको दुईवटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । मंगलबारबाट सामाजिक सञ्जालमा प्रवेश पाएका ती तस्बिरमा सांसद सुनुवारले युवालाई मास्क लगाइदिँदै गरेको देखिन्छ । ती युवाले आफूले लगाएको मास्क हातमा झुण्ड्याइरहेका छन् । सांसद सुनुवारले मास्क फुकाल्न लगाएर नयाँ मास्क लगाइदिएको जस्तो देखिन्छ । उनले युवालाई मास्क लगाइदिँदै मुस्कुराउँदै क्यामेरातिर पोज दिइरहेका छन् ।
सांसद सुनुवारको यस्तो तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया सुरु भएको छ । केहीले सुनुवारलाई तीखो व्यंग्य हानेका छन् । पत्रकार लाक्पाजी शेर्पाले आफ्नो फेसबुक पेजमा ब्यंग्य कार्टुनसहित सांसद सुनुवारले मास्क लगाइदिँदै गरेको तस्बिर पोष्ट गरेर लेखेका छन्, 'आज दिनभरिका लागि यति भएपछि सहज भो हाँस्दै दिन काट्नलाई ।' नवीन उत्सवले फेसबुकमै भाइरल भएको तस्बिरसहित लेखेका छन्, ''मास्क उद्घाटन' गर्दै ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवार ।'
ओखलढुंगाका पत्रकार जीवन शर्माले फेसबुकमा प्रश्न गरेका छन्, 'सडकमा भेट्ने बित्तिकै हो माननीयज्यू ? कोरोना सचेतनाको समाजिक दूरी खै त ?' डम्बर बुढाथोकीले भनेका छन्, '२ रुपैयाँको माक्स दिएर मिडियामा नाम कमाउने भएछन् ।' नारायण राईले लेखेका छन्, 'कठै हाम्रा नेताज्यूहरु ।'
धेरैले तस्बिरसहितको स्टाटस लेखेका छन् । केहीले सांकेतिक रुपमा स्टाटस मात्रै राखेका छन् । फेसबुकमै लीलाबल्लभ दाहाल काकाले भनेका छन्, 'मुखमा मास्क टाँस्नुभन्दा त एउटा पाटो जोतेको भए कृषिमा सरकारले लक डाउन खोल्यो भन्ने मसेज त जान्थ्यो नि ? २ जना ठूला मान्छे आए २ सय मास्क बाँडे, जनता उस्ताको उस्तै !'
आलोचना खेपिरहेको तस्बिर सांसद सुनुवार केही दिन अघि अनुगमनको सिलसिलामा ओखलढुंगा आएर फर्कँदा सिन्धुलीमा खिचिएको स्रोतले बताएको छ । उनले पलापु युवा क्लबले आयोजना गरेको मास्क वितरण गर्ने कार्यक्रमको सिन्धुलीबाटै पलापुका दुई युवालाई मास्क लगाइदिएर सुरुवात गरेको स्रोतको दावी छ । उक्त दावीलाई पुष्टि गर्नेगरी फेसबुकमै एक युवाले पलापु युवा क्लबले मास्क वितरण गर्ने कार्यक्रममा सांसद सुनुवारले उद्घाटन गरेको स्टाटससहितको तस्बिर राखेका थिए । पछि ती युवाले आफ्नो स्टाटस हटाइसकेका छन् ।
निजी प्रयोजनको तस्बिर बाहिर आयो : सांसद सुनुवार
सांसद सुनुवारले तस्बिर कहाँ खिचिएको भन्नेबारे प्रष्ट खुलाएनन् । तर अहिले भाइरल भएको तस्बिर निजी प्रयोजनका लागि खिचिएको उनको दाबी छ । 'त्यो तस्बिर निजी प्रयोजनका लागि खिचिएको थियो,' सांसद सुनुवारले ओखलढुंगाखबरसँग फोन सम्पर्कमा भने, 'कसैले बाहिर ल्याइदिएछ ।' सुनुवारले तस्बिरको विषय सामान्य भएकाले बहस जरुरी नभएको बताएका छन् ।
एकपछि अर्को तस्बिर भाइरल
यस अघि पनि ओखलढुंगाका प्रदेश सभा सदस्य तथा १ नं प्रदेश अर्थ समिति सभापति मोहनकुमार खड्काले एक खेलकुद प्रतियोगितामा पिर्कामाथि चढेर 'पिर्के सलामी' लिँदै गरेको तस्बिर भाइरल भएको थियो । जनप्रतिनिधिहरुले राजकीय सम्मान खोजेको भन्दै अरु जनप्रतिनिधिका पनि त्यस्तै तस्बिर जोडेर धेरैले आलोचना गरे । गएको दसैंमा ओखलढुंगा सदरमुकाममा हालिएको पिङ उद्घाटन गरेको भन्दै सामाजिक सञ्जालमा सांसद सुनुवार भाइरल भए ।
केही समयअघि मात्रै चम्पादेवी गाउँपालिकाले आयोजना गरेको दाँत शिविरमा सामुहिक रूपमा दाँत ठेलेर उद्घाटन गरेको भन्दै फेरि अर्को तस्बिर भाइरल भयो । जुन तस्बिरमा प्रदेश सभा सदस्य तथा १ नं प्रदेश अर्थ समिति सभापति खड्का, प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, गाउँपालिका अध्यक्ष नवराज केसीलगायतको अनुहार देखिन्थ्यो ।
अहिले सामाजिक सञ्जालमा कोरोना भाइरसबाट बच्नका लागि सांसदलाई समेत सामाजिक दूरी थाहा नभएको, हातमा दिनुपर्ने मास्क मुखैमा लगाइदिएको, सांसद जस्तो मान्छेमा सस्तो लोकप्रियताका लागि उद्घाटन मोह बढेको, माक्स असुरक्षित तरिकाले लगाइदिएको जस्ता प्रतिक्रिया दिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेरि सांसद सुनुवारको तस्बिर भाइरल बनाएका छन् । केहीले सांसद सुनुवारको पक्षमा पनि टिप्पणी गरेका छन् ।
जे होस् सामाजिक सञ्जालमा भाइरल हुनेहरु दोस्रो पक्षबाट पीडित हुने गरेको पाइएको छ । जुन प्रयोजनका लागि खिचिएको तस्बिर हो सोही प्रयोजनामा प्रयोग नगरेर अधिकांश तस्बिर दुरुपयोग हुने गरेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सामाजिक सञ्जालको मनोविज्ञान नबुझ्दा र प्रविधिको ज्ञान नहुँदा पीडित भइरहेका छन् । जुनसुकै कामको तस्बीर र भिडियो लिइरहनु जरुरी हुन्छ जस्तो आफूलाई नलाग्ने लामो समयदेखि ओखलढुंगामा पत्रकारिता गरिरहेका पत्रकार कुम्भराज राई बताउँछन् । 'तस्बीर र भिडियो लिईहालेपनि सामाजिक सञ्जालमा पोष्ट्याउनु अघि सोच्नुपर्ने हुनसक्छ ।' पत्रकार राई भन्छन्, 'अन्य लिइदिने व्यक्तिले पनि विना जानकारी बदनाम गर्ने उद्देश्यले पोष्ट्याउनु हुँदैन ।'
वडाको आपत्ति
सांसद सुनुवारको संलग्नतामा वडा कार्यालयलाई जानकारी नै नदिई मास्क वितरण गरेको भन्दै ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं १ कार्यालयले ले आपत्ति जनाएको छ । राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्नुपर्नेमा सरकारको नीति निर्देशन र विद्यमान कानुन बाहिर गएर स्थानीय सरकारलाई थाहै नदिई वितरण गरिएको भन्दै वडा कार्यालयले आपत्ति जनाएको हो ।
बुधबार विष्णु पुलामीले एक प्रेस विज्ञप्ति जारी गर्दै राजनैतिक पार्टी तथा व्यक्तिहरुलाई टेवा पुग्ने गरी राजनैतिक चरित्रको क्रियाकलाप गरिएकोमा खेद प्रकट समेत गरिएको उल्लेख छ ।
वडा कार्यालयले कुनैपनि राहत सामग्रीहरु वितरण गर्नुपूर्व स्थानीय तहको पूर्व स्वीकृति लिनुपर्ने भए लिन र विद्यमान प्रचलित कानुन अनुसार स्थानीय तहलाई हस्तान्तरण गर्न समेत अनुरोध गरेको छ ।