ओखलढुंगा । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका १, टाक्सिन्दुका विजय राई तीन दिनदेखि ओखलढुंगा सामुदायिक अस्पतालमा अलपत्र झैं थिए । दाहिने खुट्टा भाँचिएका उनको स्टिल हाल्नुपर्ने भएपछि अस्पतालले काठमाडौं रेफर गरेको थियो । तर काठमाडौं जाने खर्च समेत नभएका उनी अलपत्र थिए ।
बिहिबार दुधकुण्ड नगरपालिकाका मेयर नाम्ग्याल जाङबु शेर्पा अस्पतालमै आईपुगे । नगरपालिकाको गाडीमा उनलाई काठमाडौं जाने व्यवस्था मिलाए । हातमा १० हजार नगद थमाए । शेर्पाले विजयलाई आफैले एकातर्फ काँधमा साथ दिँदै गाडी चढाए । नगद रकम भने मेयर शेर्पाले नगरपालिकाको तर्फबाट नभएर व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । विजयलाई टाक्सिन्दुदेखि नगरपालिकाको एम्बुलेन्स मार्फत मिसन अस्पताल सम्म ल्याउन सहयोग गरेका थिए ।
अस्पतालबाट डिस्चार्ज भएपनि गाडी रिजर्भ गर्न नसकेर बसेका गोरा र तिङलाका अन्य दुई बिरामीलाई नेलेबाट एम्बुलेन्स मगाए । उनीहरुलाई बिहिबार साँझ नै एम्बुलेन्स चढाएर घर फर्काए ।
मेयर शेर्पाले अस्पतालमा विभिन्न रोगका कारण भर्ना भएका सोलुखुम्बु जिल्लाका १० जना बिरामीलाई नगद ५ हजारको दरले नगद सहयोग गरे । महाकुलुङ, सोताङ, माप्य दुधकोशी, थुलुङ दुधकोशी र सोलु दुधकुण्ड नगरपालिकाका बिरामीहरु अस्पतालमा थिए । उनीहरुले मेयर शेर्पाको सहयोगको खुलेर प्रशंसा गरे ।
‘छोरीको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता लागिरहेको बेला मेयर शेर्पाले गर्नु भएको सहयोगले निकै खुशी छु ।’ माप्य दुधकोशी गाउँपालिका १, खरिखोलका छोङबा शेर्पाले भने, ‘त्यसै त लकडाउन, सजिलै खर्च सापटी खोज्न सकिने अवस्था पनि थिएन ।’ उनी दश वर्षिया छोरी सोनी शेर्पाको हात भा“चिएको उपचार गराईरहेका छन् ।
नाम्ग्याल जाङबु शेर्पा आफै अस्पतालमा आई जिल्लाबासीको उपचारमा सहयोग गर्नु प्रशंसनीय काम भएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए । ‘जनप्रतिनिधि भएर यस्तो काम गर्नु निकै राम्रो कुरा हो ।’ निर्देशक आचार्यले भने, ‘थोरै मात्र जनप्रतिनिधि यस्तो संकटको बेला अस्पताल आएका छन् । त्यसमध्ये पनि उहा“ले गर्नुभएको सहयोग निकै सह्राहनीय छ ।’
नाम्ग्याल जाङबुले निर्देशक आचार्यलाई सोलुखुम्बुबाट आएका बिरामीलाई डिस्चार्ज वा रेफर गर्दा गाडीको अभाव भएको जानकारी पाएमा आफूलाई सम्पर्क गर्न अनुरोध गरे । दुधकुण्ड नगरपालिकाले लकडाउन अवधिका लागि भनेर चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखेकोले जुनसुकै बेला पठाउन सकिने बताए ।
सोलुखुम्बुका बिरामीहरु मिसन अस्पतालमा धेरै संख्यामा रहेको र उनीहरु लकडाउनका कारण समस्यामा रहेको सुनेपछि भेटघाटका साथै सहयोग गर्ने उद्देश्यले आएको मेयर शेर्पाले बताए । ‘अहिले सर्वसाधारण निकै कठिन अवस्थामा छन् । अरुबेला जस्तो सजिलो स्थितिमा छैनन् ।’ उनले भने, ‘त्यसैले यो मैले मेयर हुनुको नाताले भन्दा पनि मानवीय भावनाले सहयोग गरेको हुँ । यसमा नगरपालिकाको एक रुपैंया पनि खर्च छैन । नितान्त मेरो व्यक्तिगत सहयोग हो ।’
उनले केही दिनअघि मात्रै व्यक्तिगत सहयोगमै नगरपालिका क्षेत्रका केही विपन्न घरधुरीलाई समेत खाद्यान्न लगायतका राहत प्रदान गरेका थिए । मेयरले अस्पतालको शय्यामै पुगेर सोलुखुम्बुका बिरामीलाई नगद सहयोग गरेको देख्दा अन्य जिल्लाका बिरामी र उनका आफन्तहरु समेत आश्चर्य चकित भए ।
‘जनप्रतिनिधि भनेको त यस्तो पो हुनुपर्छ । दुखको बेला साथ सहयोग गर्ने ।’ ओखलढुंगाकै एक बिरामीका आफन्तले भने, ‘हाम्रो जनप्रतिनिधि त यसरी आएर सहयोग गर्नु त कहाँ हो कहाँ फोन गरेर सहयोग माग्दा पनि सहयोग गर्दैनन् ।’