ओखलढुंगा । हिजो शुक्रबार सरकारले उदयपुरमा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्यो । ओखलढुंगाको छिमेकी जिल्ला उदयपुरमा कोरोनाको संक्रमण देखिएसँगै शनिवार विहानैदेखि ओखलढुंगामा लकडाउन थप कडा हुने धेरैको अपेक्षा थियो । तर त्यसको ठीक विपरित हुनेगरी सिद्धिचरण नगरपालिका वडा नं १२ मा लाग्ने साप्ताहिक शनिवारे हाट विहानैदेखि घुइँचो भयो ।
'तरकारी किनबेच गर्नका लागि खुला गरिएको' भनिएको हाटमा सयौँको संख्यामा स्थानीयहरु सहभागी थिए । नगरपालिकाले सामाजिक दूरी कायम हुनेगरी रेखा कोरेर किनबेच गर्ने व्यवस्था मिलाए पनि त्यसको पालना भएको खासै देखिएन । दर्जन बढी प्रहरीहरू भीड व्यवस्थापनका लागि 'रूखो स्वर' गरेर बीचबीचमा पसिरहेका थिए । तर पनि उनीहरुलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको देखियो ।
सिद्धिचरण नगरपालिकाले सामाजिक दूरी कायम हुनेगरी कपडा पसल राखिँदै आएको खण्ड तरकारी किनबेचका लागि खुला गरेको थियो । तर पनि सामाजिक दूरी पालना भएको थिएन । हटियामा आउने केहीले मात्रै मास्क लगाएका थिए । शनिबारे हटियामै भेटिका सिद्धिचरण नगरपालिका वडा नं १२ का वडाध्यक्ष विनोद श्रेष्ठले तरकारी किनबेच गर्नका लागि सामाजिक दूरी कायम हुनेगरी व्यवस्था मिलाएको भए पनि भीड व्यवस्थापनमा समस्या भएको बताए ।
शनिबारे हटियाकै कारण आज ओखलढुंगा सदरमुकाम बजार क्षेत्रमा चहलपहल निकै बढेको छ । भीड बढेपछि स्थानीयले विरोध गरेका छन् । सिद्धिचरण नगरपालिका वडा नं १२ का स्थानीय व्यवसायी कृष्णसुदन श्रेष्ठले तरकारीका लागि खुलेको हटिया कोरोना संक्रमणको खतरा भएको बताए ।
शनिवारे हटियामै भेटिएका समाजवादी पार्टीका १ नं प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले भीडभाड हुनेगरी हटिया लगाउनु नहुने तर्क राखे । किसानको बारीबाटै तरकारी खरीद गरेर ल्याएर बजारमा घुमाएर बेच्नेगरी व्यवस्थापन गर्न सिद्धिचरण नगरपालिकालाई सुझाव दिए ।
उदयपुरमा कोरोना संक्रमित भेटिएपछि जिल्लामा लकडाउन झन् कडाइ गर्न धेरैले माग गरेका छन् । जिल्लामा लकडाउनका क्रममा अनुमति विना नै धेरैजसो सवारी साधन चल्ने गरेको, जिल्लाका अधिकांश सीमाना खुलाजस्तै भएको, गाउँमा लकडाउनको प्रभाव शून्य भएकोजस्ता जनगुनासो रहेका छन् ।
हेरौँ आज लागेको शनिबारे हाटका केही तस्बिरहरू