ओखलढुंगा । लकडाउनका कारण समस्यामा परेर ओखलढुंगा आउन नपाउनेहरुको विवरण संकलन गरिने भएको छ । उनीहरुलाई ल्याउन समेत पहल गरिने भएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोका, चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राई, मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई, सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपेश खड्का, सशस्त्र प्रहरी बल, नेपाल १ नं आश्रित गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर सुवेदी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारी, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराई र चम्पादेवी गाउँपालिकाका वडाध्यक्ष विष्णु पुलामी सहभागी थिए । बैठकमा गाउँपालिका अध्यक्षहरुले आफ्ना गाउँपालिकाका नागरिकहरु अन्यत्र अलपत्र परेको भन्दै ल्याउन पाउनुपर्ने विषयमा आवाज उठाएका थिए ।
बैठकले जिल्लास्थित सबै पालिकाहरुले देशका विभिन्न जिल्ला तथा शहरहरुमा विविध कामको सिलसिलामा रहेका र हालको लकडाउनको कारण समस्यामा परेका व्यक्तिहरुको विवरण संकलन गर्ने निर्णय गरेको छ । यस्तै देशका अन्य जिल्लामा घर भई हाल ओखलढुंगाका पालिकामा संचालित योजना, परियोजनालगायतमा कार्यरत व्यक्तिहरुको विवरण समेत संकलन गर्ने कार्यका लागि वडा समितिहरुलाई परिचालन गरिने भएको छ ।
बैठकबाट सबै पालिकाहरुले एकजना फोकल पर्सन तोक्ने र सम्बन्धित सरोकारवालाहरुको सजगताका लागि नाम र सम्पर्क नम्बर सार्वजनिक गरी पालिकागत विवरण तयार गर्ने निर्णय भएको छ । विवरण अद्यावधिक भएपश्चात ती व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अबलम्बन गरी सुरक्षित तवरबाट सम्बन्धित पालिकाको संयोजनमा आआफ्नो पालिकामा ल्याउन र पुर्याउन पहल गर्ने निर्णय भएको छ ।