ओखलढुंगा । जन्तरखानी दम्मर निवासी हाल इटाली वस्दै आएका ङिमा शेर्पा (ङावाङ पेमा) को अगुवाईमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यार्थी, स्थानीयहरुलाई लत्ता कपडा, झोला, स्टेशनरी लगायतका सामाग्री वितरण गरेको ओखलढुंगा नौ डाँडा संस्थाका कोषाध्यक्ष मिङमार दावा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । सामाग्री वितरण गर्न थार्तिङ गुम्बा आधारभूत विद्यालय नलिडाँडामा एक भेला आयोजना गरेको थियो ।
ओखलढुंगा नौ डाँडा संस्थाद्धारा यहाँको वन्दना सिंहदेवी, थार्लिङ गुम्बा र ढिकुरे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बर्षेनी शैक्षिक सामाग्री, लत्ता कपडा, झोला र भौतिक सहयोग गर्दै आइरहेको र त्यसैको निरन्तरता स्वरुप सामाग्री वितरण गरेको जनाएको छ । इटाली, क्यानडा, अष्ट्रिया लगायतका देशका नागारिकहरु समेत उपस्थित थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुङ्गा शेर्पाका अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै अगुवा ङिमा शेर्पाले दुर्गम क्षेत्रको बालबालिकाहरुको उज्ज्वल भविष्य निर्माण गर्ने आफ्नो अभियान रहेको र यो जारी रहने बताए ।
विभिन्न विदेशी साथीहरुसँगको समन्वयमा सहयोग जुटाई आफूले निरन्तर सहयोग गर्दै आएको र यसबाट समुदायमा सकारात्मक परिवर्तनहरु देखापर्न थालेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा संस्थाका सचिव लाक्पा जी शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा संस्थाले काम गर्दै आएको जनाउँदै समुदायको आवश्यकतालाई ध्यानमा राख्दै संस्थाले स्वास्थ्य सेवा, शैक्षिक कार्यक्रम र घुम्ती स्वास्थ्य सेवा समेत सञ्चालन गरेको जानकारी दिए ।
उनले शैक्षिक क्षेत्रमा परिवर्तनका लागि शिक्षकहरुको भूमिका र अभिभावकहरुको सकारात्मक सोचको जरुरी रहेको उल्लेख गरे ।
टोलीले खिजीदेम्बाको शिवालय माविका बालबालिकाहरुलाई समेत शैक्षिक सामाग्री वितरण र त्यहाँ निर्माणाधिन स्वास्थ्य केन्द्रको अवलोकण समेत गरेका छन् ।