चिशंखुगढी । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले बाह्य क्षेत्रबाट गाउँपालिका प्रवेश गर्ने नागरिकको तुरुन्तै कोरोनाको र्यापिड परीक्षण गर्नका लागि आवश्यक तयारी गरिरहेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताएका छन् । ओखलढुंगाखबरसँग कुराकानी गर्दै शर्माले कोरोनाको द्रूत परीक्षणका लागि आवश्यक किट माग गरिसकेको समेत बताए ।
बाह्य क्षेत्रबाट आउने नागरिकहरुको लगत संकलन, स्वास्थ्य परीक्षण, होम क्वारेन्टाइनमा बसाउनेलगायतका कामहरु गाउँपालिकाले गरिरहेको उनको भनाई छ । विश्वमा महामारी निम्त्याइरहेको कोरोना भाइरसको रोकथामका लागि चिशंखुगढीले गाउँपालिकामा कोरोना रोकथामका लागि आवश्यक रणनीति समेत बनाइरहेको शर्माले बताए ।
चिशंखुगढी गाउँपालिकाले मुख्य रुपमा सचेतनाका क्रियाकलाप अगाडि बढाइरहेको उनको भनाइ छ । जसका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, वुद्धिजीवीलगायत सबैलाई सचेतना फैलाउनका लागि परिचालन गरिएको शर्माले बताए । गाउँपालिकाले क्वारेन्टाइन निर्माण, विपद् जोखिम न्युनिकरणको तयारी, खाद्य संकट व्यवस्थापन, लकडाउनबाट प्रभावित परिवारलाई राहत वितरण गर्ने लगायतका क्रियाकलाप अगाडि बढाइरहेको उनको भनाई छ ।
हेरौँ चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माको भनाई-