ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिकाको ४ नं वडा कार्यालयले लकडाउनप्रभावित र खाद्यान्न अभाव भएका परिवारबाटै रकम असुलेको पाइएको छ । राहत दिन भन्दै वडा कार्यालयले टोल टोलमै समिति बनाएर चामल चाहिने व्यक्तिसँग प्रतिव्यक्ति १ हजार ३ सय ५० रुपैयाँ रकम उठाएको हो ।
वडामा भोकमरि शुरु हुन लागे पनि गाउँपालिकाले नसुनेपछि स्थानीयलाई सहुलियत दिन रकम उठाएर चामल खरिद गरेर घरघरै बाँड्ने गरि तयारी गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले राहत बाँड्ने पैसा उठाउनका लागि टोलटोलमै समिति समेत गठन गरेको छ । खाद्यान्न अभाव हुने भनेर वडामा ४ सय २९ परिवार पहिचान गरिएको छ । उनीहरुलाई वडाका तर्फबाट खरिद गरेर ढुवानी खर्च व्यहोरेर घरघरै पुर्याइ दिने भन्दै वडा कार्यालयले निर्णय नै गरेर रकम उठाइएको हो ।
एक हप्ता पहिले रकम दिए पनि स्थानीयले चामल पाएका छैनन् । जेरुङ गाउँका स्थानीय विमला श्रेष्ठका अनुसार प्रतिव्यक्ति १ हजार ३ सय ५० का दरले वडा कार्यालयले रकम उठाएको छ । आफुले पनि चामल अभाव भएर रकम दिए पनि हालसम्म चामल आइनपुगेको श्रेष्ठले बताइन् । जेरुङ गाउँमा मात्रै २ सय बढीले रकम दिएका छन् ।
सो वडाका अधिकांश लकडाउन प्रभावितमा भोकमरीको समस्या रहेको ४ नं वडाका वडाध्यक्ष कुमार राईले बताए । लकडाउनप्रभावित पीडितहरुले भने गाउँपालिकाले निःशुल्क राहत दिनुपर्नेमा पैसा उठाएर चामल किन्ने प्रक्रिया अगाडि बढाएको गुनासो गर्दै आएका छन् ।
वडाले विपद् व्यवस्थापन कोषको १ लाख मात्र रकम रहेकाले स्थानीयसँगै रकम लिएर चामल खरिद गरी ढुवानी सहुलियत दिन लागेको वडा सचिव उर्मिला खत्रीले बताइन् । वडाका स्थानीयलाई वडा कार्यालयले ढुवानी सहुलियत दिने उद्देश्यले विपद् व्यवस्थापन कोषबाट ढुवानी गर्ने नीतिगत निर्णय भएको खत्रीको भनाइ छ ।
स्थानीयले भने गरिबसँगै रकम असुलेर राहतको नाममा नाटक गरेको आरोप लगाएका छन् । गाउँपालिकाले खाद्य संकट भएका परिवारलाई राहतमा चासो नदिएको उनीहरुको भनाइ छ । पीडितसँगै रकम असुलेर राहत दिने काम नाटक मञ्चन मात्रै भएको स्थानीय नवराज खड्काले बताए ।
वडाध्यक्ष भन्छन्, गाउँपालिकाले नसुनेपछि रकम उठायौं
प्रभावित र गरिव परिवारबाटै रकम उठाएको विषयमा वडा अध्यक्ष कुमार राईले वडामा आफ्नै स्रोत नभएको, गाउँपालिकाले आफ्नो वडाको समस्या नसुनेपछि प्रभावितबाटै रकम उठाएको बताए । उनले भने, ‘पोहोर फौजी कीराले सतायो, अहिले गाउँमा भोकमरी लाग्ने अवस्था छ, गाउँपालिकाले राहत दिने कुरै नसुनेकाले यो प्रक्रिया थालेका हौं ।’ उनले वडाले ढुवानी सहुलियत दिएर चामलको रकम चाँही उनीहरुबाटै लिएर घरैमा चामल पुर्याउने तयारी थालेको बताए । यसलाई राहतकै रुपमा लिन सकिने उनको भनाइ छ ।
सुनकोसी गाउँपालिकाले भने खाद्यान्न संकट भइ नहालेको जनाएको छ । गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले गाउँपालिकाले आवश्यक पर्दा राहत दिने गरि खाद्यान्न संचितिकरण गरिरहेको बताए । अधिकारीले वडाले राहत वितरण गर्ने नभई ढुवानीका लागि सहजीकरण गरेको हुनसक्ने बताए ।