गाउँमा आजभोलि युवाको जमात धेरै देखिन्छ । जन्ती र मलामिको ताँतीमा महिला, बालबालिका र बुढाबुढी मात्र देखिने गाउँमा पनि युवा देखिन्छन्, अहिले । बन्दाबन्दीमा घर आएका उनीहरु फुर्सदिला छन् ।
यस्ता जोस जाँगर भएका व्यक्ति लकडाउन मनाउन गाउँ आएका छन् । उनीहरुमा धेरै क्षमता हुनसक्छ । उनीहरुको क्षमता बन्दाबन्दीमा गाउँमा प्रयोग हुने हो भने यसबाट फाइदा पुग्छ । यसबारे स्थानीय सरकारले के सोच्दै होलान् ? यो त जिज्ञासा मात्रै भयो । तर, यो श्रृङ्खलामा मलाई लागेको विचार सुझावको रुपमा प्रस्तुत गर्न चाहान्छु ।
ओखलढुंगाका आठ स्थानीय तहमध्ये पानीका मुहान नभएर संकट खेपिरहेका चिशंखुगढी, सुनकोसी, चम्पादेवी र मानेभञ्ज्याङ हुन् । जहाँ शौचालयमा पानी राख्न सकिने अवस्था छैन । अन्य तहका केही वडामा पनि यस्तो समस्या छ । देशका धेरै तहमा यो साझा समस्या छ । यो हुनुको मुख्य कारण पानीका मुहानहरु सुक्नु नै हो ।
पानीका मुहान सुक्नका कारण मानवीय गतिविधीहरु, विकास निर्माण खासगरि सडकले मुहान भत्काउने र पुर्ने लगायत छन् । कतै भूकम्पपछि मुहान सुके । समस्या आयो । तर, समाधानको दिर्घकालनी विकल्प के त ? कतै बाट ल्याउने वा पम्पिङ प्रविधि अस्थायी हुन् । ती ठाउँका पनि मुहान सुकेपछि चाँही के गर्ने त ? जलवायु परिर्वतन, लगायतका असरले समयमा पानी नपर्ने कतै अनावृष्टि र अतिवृष्टिका समस्या पनि आउन थालेका छन् ।
तसर्थ युवा शक्ति गाउँमा आएका समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड तोकेर स्थानीय तहहरुले केही काम गर्न सक्छन् । मुहान संरक्षणमा स सना कामहरु गरे पनि आगमी दिनमा त्यसले सकारात्मक प्रभाव पार्न सक्छ । सुख्खाग्रस्त गाउँहरुमा धेरै पाखा, वन तथा डाँडाहरु छन् । उहिले टोलटोलै वन छेउमा ठूला आहाल हुन्थे । पानी सधैंभरि आहालमा हुन्थ्यो । अहिले ती छैनन् । जमिन रिचार्ज हुन पाउँदैन यही कारणले पनि कति मूल सुकेका छन् ।
यसर्थ गाउँ टोलका पखा, वन क्षेत्र र खाली डाँडाहरुमा त्यस्ता ठूला आहाल खनेर पानी जम्मा गर्न सकिन्छ । अहिले त्यस्ता आहाल निर्माण गरे बर्षा शुरु हुँदैछ, पानी जम्मा हुन्छ । त्यसरी जम्मा भएका पानी विस्तार जमिनमा सोसेर सुकेका मुलहरु पुनः रिर्चाज हुन सक्छन् । वन पाखा हरियाली हुन्छ । पानीका मुहानहरु पलाउन सक्छन् । तसर्थ अहिले गाउँ आएका युवाहरुलाई गाउँपालिकाले पारिश्रमिक नै दिएर सुख्खाग्रस्त गाउँका पाखा पखेर र डाँडाहरुमा त्यस्ता रिचार्ज पोखरी बनाउन सक्छन् ।
अहिले बेरोजगार जनशक्ति सचेततापूर्वक यसरी परिचालन गर्ने हो भने पानीका मुहान संरक्षण गर्न सकिन्छ । मानव जीवनको मूख्य आधार नै पानी भएकाले भविश्यमा पनि पानीकै समस्या आइरहने निश्चित छ । यो काम कुनै अर्थहिन पनि लाग्न सक्ला तर, मुहान संरक्षण गर्ने अरु विकल्प देखिदैन । वडा अध्यक्षहरुले आफ्नो वडामा कहाँ कहाँ त्यस्ता पोखरी बनाउन सकिन्छ अध्ययन गरेर गाउँपालिकाले त्यस्ता काम शुरु गराउने हो भने उपयुक्त हुन्छ । यो सुझाव हो, आउनुहोस्, मुहान संरक्षणका विषयमा बहस शुरु गरौं, काम थालौं । बन्दाबन्दीको सदुपयोग गरौं ।