क्वारेन्टिन भन्ने शब्द अहिले चर्चामा छ । यो पनि कोरोना संक्रमणले ल्याएको आयतित शब्द हो । यसको नेपालीमा अर्थ चाँही निगरानी भन्ने रहेछ । सरकारले शंकास्पदको निगरानीका लागि निगरानी कक्ष अर्थात् क्वारेन्टिन निर्माण गरेको छ । कतिलाई त्यहाँ राखिएको पनि छ ।
तर, पछिल्ला समय जिल्ला बाहिर रहेका नागरिकहरु घर फर्किएका छन् । उनीहरुलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ । यो भनेको घरमै निगरानीमा बस्न भनिएको हो । अर्थात् घरपरिवार, छरछिमेकमा निश्चिित भौतिक दुरी कायम गरेर घरैमा बस्ने, समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने, व्यक्ति व्यक्तिबीचको शारीरिक सम्बन्ध, सम्पर्कबाट टाढै रहने भनिएको हो ।
यसरी क्वारेन्टिनमा बस्न भनेर जिल्लामा करिब ७ हजार हाराहारी मान्छे भित्रिएका छन् । उनीहरुलाई सोही शर्त बमोजिम आउन अनुमति दिइएको हो । अटेर गरेमा सरकारी क्वारेन्टिन निर्माण गरिएका छन् । बाहिर रहँदाको असहजता गाउँघर आएपछि पक्कै सहजता हुन्छ । तर, त्यो भनेर घर गाउँमा भेला, बैठक, भोज, भेटघाट गर्न नपाइने भनेरै होम क्वारेन्टिन भनिएको हो ।
काठमाण्डौ, विराटनगर, इटहरी तथा अन्य ठाउँबाट आएका हामीले होम क्वारेन्टिनको मापदण्ड पुरा गरेर बसेका छौं त ? धेरै तिर यो विषयमा गुनासा आइरहेका छन् । बाहिरबाट आएका परिवारका सदस्य र आफन्तबाटै घरपरिवार आतंकित हुनुपर्ने अवस्था हामी आफैँ त सिर्जना गरिरहेका छैनौं ? यहाँ हामी आफ्नो परिवार र समाजको सुरक्षामा जिम्मेवार बन्नुपर्छ ।
बाहिरबाट अहिले घर आउने जमात धेरैजसो सिर्जनशील, सचेत र लेखापढ युवा जमात बढी छ । यो जमात भनेको समाजको अगुवाइ गर्ने दस्ता पनि हो । यो दस्ता होम क्वारेन्टिनमा बस्न आउँदा फुर्सदिलो देखिन्छ । उनीहरुले घर परिवार र समुदायको आवश्यकता हेरेर सिर्जनशिल काममा सहयोग गर्ने हो भने पनि धेरै परिर्वतन हुन सक्छन् । विद्यार्थीहरुले परीक्षाको तयारी तथा लोकसेवाको तयारी गर्न सक्छन् । सीपमूलक तालिम लिएका व्यक्तिले घर परिवारमा आवश्यक सामग्रीहरु दराज, टेबल, कुर्सी निर्माण, आवश्यक भए घर, कोठा सजावट, सरसफाइ आदि गर्न सक्छन् ।
किशोर किशोरीले घर परिवारको कामबारे सिक्न सक्छन् । खानाका परिकार बनाउन, विरुवा रोप्न, बाली लगाउने सिजन र प्रजातिका बारेमा जानकारी लिन तथा प्रयोगात्मक गर्न पनि समय प्रयाप्त छ । लुडो, क्यारेमबोर्ड र तासमा समय विताउनुको सट्टा यस्ता काम गरेर परिवारका सदस्यलाई सघाउन, घरका आवश्यक वस्तु निर्माण गर्न र आफुले नजानेका घरायसी कुरा सिक्न सकिन्छ । घर परिवारका सदस्यलाई आफुले जानेका र समाजमा भइरहेका कुराका बारेमा सिकाउन सकिन्छ । करेसाबारी निर्माण गरेर फलफुल र तरकारी रोप्न सकिन्छ, विरुवा रोप्ने सिजन शुरु भएको छ ।
क्वारेन्टिनमा बस्न भनेर घर फर्केकाहरुलाई मेरो सुझाव छ कि, काम छैन भनेर गफ, गर्ने, तास खेल्ने आदि गरेर दिन काट्नुभन्दा समुदायमा आधारित योगदान र श्रमदान गरेर धारा, कुवा, चौतारा निर्माण गर्न सकिन्छ । स्वास्थ्य सुरक्षामा ख्याल गर्दै यस्ता काम गर्नाले हाम्रो गाउँ समाजको सभ्यता झल्काउँछ । उर्जावान् समय खेर नफालौं आफ्नो आवश्यकता र क्षमता अनुसारका सिर्जनशील काम गरौं । यसले आफुलाई सिर्जजनशील बनाउँछ, परिवारको आवश्यकता पुरा गर्छ भने आफ्नो क्षमताको पनि विकास गर्छ । सोचौं, आफ्नो र परिवारको सृजनशीलता विकास गरौं र खुसी जीवन जिऔं ।