ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाले ९ लाख ९४ हजार ४ सय २३ रुपैयाँको मेडिकल सामग्री खरिद गरेको छ । गाउँपालिकले कोरोनाका विरुद्ध प्रयोग हुने मेडिकल सामग्री खरिद गरेको हो ।
गाउँपालिकको बुधबार बसेको गाउँ कार्यपालिका बैठकमा खर्च विवरण सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष गोविन्द पौडेलले ओखलढुंगाखबरलाई जानकारी दिए । यससँगै मेडिकल सामग्री खरिद गरेको विवरण र मूल्य र प्राप्त भएको विवरण सार्वजनिक गर्ने जिल्लाको पहिलो गाउँपालिका लिखु बनेको छ ।
गाउँपालिकाले १५ हजार ४ सय ८० थान मास्क, ५० लिटर सेनिटाइजर, १४ हजार १ सय ५२ थान साबुन, ४ वटा पीपीई र १३ वटा थर्मल गन खरिद गरेको छ । गाउँपालिकाले खरिद गरेको सामग्रीको विवरण खुलाए पनि त्यसको दरभाउ भने सार्वजनिक गरेको छैन ।
गाउँपालिकालाई ३ हजार ८ सय थान मास्क, १४ बोतल सेनिटाइजर, ७ सय थान पञ्जा, २ हजार ४ सय ३ थान साबुन, ४८ थान ह्याण्डवास, १४ थान पीपीई, २ थान थर्मल गन र ४ कार्टुन औषधि नि:शुल्क प्राप्त भएको विवरणमा उल्लेख छ । गाउँपालिकालाई पूर्व सांसद रामहरि खतिवडा, यसम सेवा समाज, सांसद यज्ञराज सुनुवार, पोकली झरना सेवा समाज, लायन्स क्लब, ट्रेड युनियन र जिल्ला कमाण्ड पोष्टले मेडिकल सामग्री सहयोग गरेका थिए ।