ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिकाले लकडानप्रभावित २ हजार २ सय ९० परिवारलाई राहत वितरण गर्ने भएको छ । विहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिकाले वडा नं १ का ४ सय परिवार, २ का ४ सय ५० परिवार, ३ का ३ सय ५० परिवार, ४ का ३ सय परिवार, ५ का १ सय ५० परिवार र ८ का १ सय ५० परिवारलाई प्रति परिवार १ बोराका दरले चामल, १ केजीका दरले नून र ५ केजीका दरले आलु दिने निर्णय गरेको छ । यस्तै वडा नं ६ का १ सय ३५ परिवार, ७ का ८० परिवार, ९ का १ सय ३५ परिवार र १० का १ सय ४० परिवारलाई भने खाद्य सामग्री र मल गरी दुई भागमा विभाजन गरेर राहत दिने निर्णय गरिएको छ । जसमा वडा नं ६ का १ सय परिवार, ७ का ८० परिवार, ९ का १ सय र १० का १ सय २० परिवारलाई ४ पाथीका दरले रासायनिक मल दिइने भएको छ । यी वडाका छनोट भएका बाँकी परिवारलाई भने सोही परिमाणमा चामल, नून र आलु दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए ।
गाउँपालिकाले वडाबाट आएको तथ्यांकका आधारमा खान नपुग्ने परिवारलाई राहत र समस्यामा परेका किसानलाई मल वितरण गर्न लागेको हो । 'कही वडाध्यक्षहरुले राहतको रुपमा मल समेत दिउँ भनेर प्रस्ताव ल्याउनुभयो,' अध्यक्ष केसीले भने,'हामीले त्यही अनुसार केहीलाई खाद्यान्न र केहीलाई मल राहतको रुपमा पारित गरेका छौँ ।' गाउँपालिकले छनोटमा परेका परिवारलाई जतिसक्दो चाँडो राहत वितरण गर्ने तयारी गरिरहेको जनाएको छ ।
गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारले जारी गरेको लकडाउनको कारण असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहहरुलाई दैनिक जीवनयापनको लागि राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन २०७६ लाई आधार मानेर निर्माण गरेको कार्यविधिअनुसार राहत वितरणको तयारी थालेको गाउँपालिकाका प्रवक्ता अजय लुइटेलले बताए ।