विकास र नेतृत्वको हिसाबले समृद्धिको अपार सम्भावना बोकेको स्थानीय तह हो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका । यसको नेतृत्व सम्हालेका अध्यक्ष मोतिराज राई जनताको नजरमा आफैँमा अनुभवी र बौद्धिक रुपमा हेर्ने गरिन्छ । नेतृत्व सही हुँदाहुँदै पनि मानेभञ्ज्याङ गाउँपालिकामा हुने हरेक गतिविधिहरुलाई लिएर पटक पटक सामाजिक सञ्जालमा चर्को बिरोध भइरहेको हुन्छ ।
पटक पटक यसो किन हुन्छ नेतृत्व समाल्नु भएका अध्यक्षले यसप्रति गम्भीर भएर सोच्न जरुरी छ । गलत प्रवृत्ति र सोच भएका, आफ्नो पद र शक्तिको दुरुपयोग गर्ने चाहे जनप्रतिनिधि नै किन नहुन, चाहे कर्मचारीतन्त्र या अरु जो कोही ?
समृद्ध मानेभञ्ज्याङ निर्माणको अभियानका बाधक सबैलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । प्रतिपक्ष र युवाहरुको आवाज सुन्न नेतृत्व तयार हुन जरुरी छ । हामी लोकतन्त्रमा अनुयायी हौ । लोकतन्त्रको अभ्यास गरिरहेका छौँ ।
लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको कदर हुन्छ । जनताप्रति सरकार उत्तरदायित्व हुन्छ । जनमतको कदर हुन्छ । प्रतिपक्षलाई मिलाएर विकास निर्माणमा हातेमालो गर्न जरुरी छ ।
प्रतिपक्ष पनि सामाजिक सञ्जालमा बिरोध मात्र हैन विकास र समृद्धिको रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्नु हामी सबैको जिम्मेवारी ठानेको छु ।
मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्षसँग जोडेर म केही विषय यहाँ उठाउन चाहन्छु । समृद्ध, सुन्दर मानेभञ्ज्याङ अभियान तपाईको नेतृत्वबाट जनताले अपेक्षा गरिरहेका छ्न् । मेरो अपेक्षा पनि त्यही हो, समृद्ध मानेभञ्ज्याङ सपना मेरो सन्ततिले अर्थात हामी पछिको अर्को नयाँ पुस्ताले फेरि त्यही समृद्ध मानेभञ्ज्याङको सपना देखिरहन नपरोस् । यसलाई विपनामा साकार पारियोस् ।
तर गाउँपालिकामा भइरहेका निर्णय र कर्मचारी नियुक्तिमा हुने राजनीति चलखेल, कर्मचारीको राजनीति गतिविधिमा संलग्नता, वडा अध्यक्षहरुको विकास निर्माणका हरेक गतिविधिहरु केलाएर हेर्दा म कत्ति पनि आशावादी छैन् । निराशाको दीयो बलेको छ, आशाको किरण निभेको छ ।
यसै विज्ञापनमा अहेव, अनमी पदमा राजनितिक चलखेल भएको र सत्य तथ्य वास्तविकताको माग गर्दै प्रतिपक्षी दलका नेता लगायत अन्य युवा अभियान्ताहरुको सामाजिक संजालमा चर्को बिरोध गरेका छन् । यसै बिषयलाई लिएर सामाजिक सञ्जालमा मानेभञ्ज्याङ गाउँपालिकाका केही कर्मचारी जो परीक्षा समितिमा समेत बसेकाहरुको अमर्यादित, असभ्य र राजनितिक आस्थाका आधारमा अभद्र प्रतिक्रिया दिइरहेको देख्दा तपाईले भनेको कुरा सम्झाउँदै सामाजिक सञ्जालमा सबै मर्यादित र सभ्य हुने बताउनु भएको थियो । गाउँपालिकाकै कर्मचारीहरुबाट यसो नहुँदा यसप्रती तपाई गम्भीर हुनुहुनेछ भन्ने बिश्वास लिएको छु ।
अर्को घटनाको पनि स्मरण गराउन चाहन्छु,
तपाईंहरुबाट नै सस्तो लोकप्रियताका लागि गरिएको गाउँपालिकाको निर्णय जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालय पढाउनु पर्ने निर्णयको उल्लंघन जनप्रतिनिधिहरुबाटै भइरहेको छ । यो किमार्थ सत्य हो । यो निर्णयको कार्यान्वयन कहाँसम्म पुग्यो या निर्णय खारेज गरिएको हो ?
निर्णय कार्यन्वयन भए जस्तो लाग्दैन । निर्णय सस्तो लोकप्रियता मात्र भएको महसुस आम जनताहरुले गरिरहेका छन् । जसले नेतृत्व माथि प्रश्न चिन्ह खडा गरेको छ । यसप्रति गम्भीर हुन विशेष आग्रह गर्दछु ।
निर्णय उल्लंघन भएको प्रमाण आवश्यक परेमा प्रमाण समेत उपलब्ध गराउन तयार रहेको छु । एकचोटि आत्मसमीक्षा गरौँ तपाईंले लिएको र मानेभञ्ज्याङ जनताले देखेको समृद्ध, सुन्दर मानेभञ्ज्याङ को सपनाका बाधक तत्व कतै शासन सत्ताको बागडोर समालेको तपाईं जनप्रतिनिधिहरु आफैँ त कतै हैन ? एकचोटि दृढ भएर सोचौँ अनि बितेको २ बर्षको स्मरण गरौँ र आगामी दिनहरु यस्ता गल्तीहरु पुन: नदोहोर्याउने अठोट गरौँ ।
र अन्तिममा हाल विश्वव्यापी फैलिएको COVID 19 (कोरोना भाइरस ) फैलिन नदिन सचेतना गाउँ-गाउँमा परिक्षण होस् साथै यो माहामारिमा भोकभोकै मर्न नपरोस् ।
-मानेभञ्ज्याङ ५,धिमिले, हाल: काठमाडौं