हाल विश्वमा महामारीको रुपमा उग्र भैरहेको कोविड-१९ ले गर्दा हामी परदेशमा रहेकाहरु विशेष खाडी देशमा काम गर्ने कामदारलाई झन गाह्रो अवस्थामा पारेको छ । यो परिवेशमा आफ्नै गाउँ ठाउ फर्केर काम गर्ने अवसरहरु र वातावरण हुन्छ कि भन्ने आशा स्थानिय निकायबाट म जस्ता कैयौं परदेशी राखेका छन् । यो अवस्थामा चाडैं आफ्नै गाउँ घर फर्किने चाहना बोकेको परदेशीहरुको चाहना कति समय पछि पुरा होला ? यो अझै केहि समयको नातिजाहरुले नै बताउला ।
केहि धन कमाउने आशा बोकेर साहुको चर्को ब्याजमा ऋण लिएर विदेशीएका हामी एका तिर महामारीको चपेटा अर्को तिर साहुको चर्को ब्याजको ऋणको पीडा छन् भने केहि राम्रो कम्पनीले त २ महिनादेखि काम नहुँदा पनि तलब दिएका छन् तर सप्लाई र अन्य साना तिना कम्पनीहरुले भने तलब कटाएर दिने कतिले कामबाट निकाल्ने र कतिले भिसाको अवधि थप नगर्ने समस्याबाट गुज्रीरहेको अवस्थामा गाउँ फर्कने आशामा कम्पनी आवासको चार घेरो भित्र बस्न बाध्य छ । यहि अवस्था लम्बिंदै गयो थोरै तलब सुविधामा काम गर्ने कामदारहरुको झन स्थिति सुधार नहुने आंकलन गर्न पक्कै सकिन्छ ।
दिनै सुधार होला भन्ने आशा सहित बिहान उठेर सामाजिक संजाल र विभिन्न अनलाइन संचार माध्याम चाहार्ने म जस्ता सयौं परदेशीहरुको आफ्नै गाउँ फर्कने पर्खाइ अनि कति सम्म पर्खनु पर्ने भन्ने यकिन हरेक दिनको समाचारबाट पाउन मुस्किल भएको अवस्थामा झन दिनै लकडाउन र कर्फ्यु बढेको समाचारको साथ संक्रमित हरुको संख्या बढेको समाचार पढ्दा खेरि पक्कै मन आत्तिनु स्वाभाविक नै हो । आत्तिएर समस्याको समाधान त हुन्न नै धैर्य गर्नु बाहेकको विकल्प पनि छैन । यो अवस्थामा गाउँ फर्किन पाउँ आफ्नै परिवार संग समय बिताउने अवस्था मिलोस भन्ने चाहना पनि नहुने हैन तर महामारी सँगको लडाइ जित्न र नेपाल देशमा विश्व स्वास्थ्य संगठनले राम्रो सुचाकमा राखेको कारण केहि खुशी भएर सुरक्षित र अझ देशमा संक्रमण नबढोस भन्ने चाहना पनि हुने हुँदा समय र परिस्थितिलाई धैर्य गरेर बस्नु पर्ने साहस पनि कहीं कतै बाट जुट्ने रहेछ ।
नेपालका विभिन्न स्थानमा छरिएर बसेका आफ्ना नागरिकहरुलाई घर फर्काउने होडबाजी सबै स्थानीय निकायहरुले गरिरहेको अवस्थामा विदेशमा रहेकाहरुको लागि यो अवसर पाए हुन्थ्यो भन्ने आशा त पक्कै हुने रहेछ । तर त्यो सम्भव भन्दा बाहिरको कुरा हो । फेरी नेपाल देखि केहि पर सिमा पारीको भारतमा रहेको नेपालीले आफ्नो भूमिमा फर्किन पनि नदिएको सरकारले हामी जस्ता सात समुन्द्र पारि रहेका नागरिकहरुको बिषयमा सोच्न अझै समय लाग्ल जस्तो लाग्छ । महामारीको समयमा चाल्नु कदमहरुमा पनि ढिला सुस्ती र देशमा सम्बन्धित निकायहरुको ध्यान कमाउने र कमिशन खाने लोभमै अल्मलिरहेको अवस्थामा आफ्नो नागरिकको लागि गर्नु पर्ने कार्यहरु गर्नको लागि जति गर्नु पर्ने त्यो गरेको पाइएको छैन । त्यसै कारण आश भन्दा पनि निरास भएको अवस्थामा नागरिक रहेकोमा शंकै छैन ।
यो महामारीको अवस्थामा आफ्नो गाउँ ठाउँ फर्कने चाहनाहरु भएर पनि फर्किन सक्ने स्थिति नरहेकोले गर्दा अब महामारी पछिको अवस्थामा स्थानीय निकायबाट केहि सहयोगको आपेक्षा सहित आफ्नो गाउँ फर्केर काम गर्ने वातावरण मिलोस अनि स्थानीय स्तरमा हुने बिकासका काममा सदुपयोग गरि आर्थिक स्तर बढाउने कुराहरु देखि आवश्यक पर्ने ठाउमा लगाउन सकियो भने देश बिकासको साथमा सम्रिद्दीको बाटोलाई अझ मजबुती दिन सकिन्थ्यो होला कि ?ज यो स्थितिमा यति गाउँ ठाउमै गर्न सकिने र देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि र पर्यटनलाई महामारी पछि अवसरको रुपमा लिएर विदेशबाट फर्किने युवालाई सहि सदुपयोग गरि काम गर्ने वातावरण अहिले देखि नै निर्माण गरियो भने केहि आशा होला कि ?
यो महामारीको अवस्था चांडै अन्त होस् भनि कामना गर्दै बसेका हामी परदेशीको दिनचर्या झन कठिन नभएर सहज होस । रेमिट्यान्सको लागि मात्र प्रयोग हुने परदेशीलाई आफ्नो देशको सरकार अनि स्थानिया निकायबाट पनि निरासाको अवस्थामा आशा जगाउने ति कामहरु होस् । देशको लागि आवश्यक पर्दा सहयोग गर्ने परदेशीको लागि अनि सोचोस् र आवश्यक तयारी गर्दै गाउँ फर्कने चाहनालाई पुरा गर्दै स्थानियाँ सरकार सँग सहकार्य गर्न पक्कै पनि तयार छन् ।
सिद्धिचरण ११ अल्ले ओखल्डुङ्गा
हाल कुवेत