ओखलढुंगा । अरब सागरको पूर्वी मध्य भाग र भारतको उत्तरप्रदेशमा एकै पटक न्यूनचापीय प्रणाली विकसित भएपछि त्यसको असर नेपालभरी परेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको असर भारतका विभिन्न भागमा पनि देखा परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले हिमाली भागका स्थानहरुमा यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । यस वर्षको मनसुन १९ दिन ढिलो गरी गत शनिबार मुलुकबाट बाहिरिएको एक सातामै मौसममा बदली आएको हो ।
महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार केही दिन यता अरब सागर र भारतको उत्तर प्रदेशमा उत्पन्न भएको मौसमी प्रणालीको असरले नेपालको मौसममा बदली भएको हो ।
अरब सागर र भारतको उत्तर प्रदेशमा विकसित भएको न्यूनचापीय प्रणालीले जलवाष्पयुक्त वायु ल्याएपछि नेपालमा तराईदेखि हिमाली भागसम्मै असर परेको छ ।
‘भारतको उत्तर–पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ’ प्रधानांगले कान्तिपुरसित भने, ‘त्यसको असर नेपालभरी परेको छ, एक–दुई दिन असर पर्ने देखिन्छ ।’ बदलीका कारण देशैभरको आकाश धुम्मिएको छ भने चिसो बढेको छ । महाशाखाका अनुसार मुलुकका केही भागमा हल्का वर्षासमेत भएको छ । महाशाखाका अनुसार पोखरा, ओखलढुंगा, धरान, धनकुटा र काठमाडौंमा हल्का वर्षा भएको छ ।
मौसमविद् प्रधानांगले मौसमी प्रणालीमा पर्याप्त जलबाष्प नभएकाले ठूलो वर्षाको भने सम्भावना नरहेको उल्लेख गरे । ‘भारतमा पनि बदली भएको छ’ उनले भने, ‘हामीकहाँ पनि सामान्य वर्षाबाहेक अरु केही हुने देखिन्न ।’ महाशाखाले सोमबारदेखि पश्चिमबाट मौसम खुल्दै जाने आँकलन गरेको छ ।
महाशाखाले पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र मध्य र पूर्वी पहाडका १–२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ ।