ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं ५ का ४० जना युवाहरू बाग्लुङ जिल्लामा अलपत्र परेका छन् । ज्यामी काम गरेर जीवन निर्वाह गर्दै उनीहरू जिल्ला फर्कन सकेका छैनन् ।
लकडाउन हुनेबित्तिकै काम छाडेर हिँड्ने तरखरमा रहेका उनीहरु सवारी नचलेपछि रोकिएका थिए । ज्यामी काम गरेकै ठाउँमा बस्दै आएका उनीहरू काम छाडेपछि अहिले अलपत्र छन् । 'सबै मिलेर ३/४ वटा कोठामा खाँदिएर बसेका छौँ,' पीडित युवा निर्मल खड्काले ओखलढुंगाखबरसँग फोन सम्पर्कमा भने, 'अहिले हामीसँग पैसा, चामल, ग्यास सबैथोक सकिएको छ ।'
सुरुमा त्यहाँको बाग्लुङ नगरपालिकाले प्रतिव्यक्ति ५ केजीका दरले चामल र २ केजीका दरले राहत दिएको थियो । त्यसपछि भने नगरपालिकाले राहत नदिएको उनीहरुको भनाई छ ।
उनीहरुले उद्दारका लागि जिल्लाको लिखु गाउँपालिका अध्यक्ष, वडा नं ५ का वडाध्यक्ष र संघीय सांसद यज्ञराज सुनुवारसँग अनुरोध गरेको बताए ।
पन्छिन खोज्दै लिखुका गाउँपालिका अध्यक्ष
बाग्लुङमा अलपत्र ४० जना युवाहरुको उद्दारका लागि जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर पौडेल पन्छिँदै आएका छन् । पीडित युवाहरुले गाउँपालिका अध्यक्षलाई फोन गर्दा 'हामीले पहल गरेर हुँदैन' भन्ने जवाफ पाएको बताउँछन् । अध्यक्ष पौडेलले अलपत्र युवाहरुको समस्या सहजीकरणका लागि बाग्लुङको स्थानीय प्रशासन र नगरपालिकासँग समेत आवश्यक समन्वय नगरेको बुझिएको छ ।
ओखलढुंगाखबरसँगको फोन सम्पर्कमा भने गाउँपालिका अध्यक्ष पौडेलले अलपत्र उनीहरुको विवरण वडाबाट प्राप्त नभएको भन्दै पन्छिन खोजे । तर वडा कार्यालयले भने गएको २४ गते नै उनीहरुको विवरणसहितको सिफारिश पठाइसकेको वडा नं ५ का वडाध्यक्ष गोपाल भट्टराई बताउँछन् । 'अध्यक्षसँग २४ गते नै उद्दार गर्ने कि के गर्ने हो भनेर भनेको थिएँ,' वडाध्यक्ष भट्टराईले भने, 'जे गरे पनि गाउँपालिकाले छिटो गर्नुपर्छ भन्ने मरो भनाई हो ।'
ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवारले भने उनीहरुलाई उद्दारका लागि पहल भइरहेको बताए ।
बाग्लुङ प्रशासन भन्छ लिखुको सिफारिश लेउ
जिल्ला फर्कने अनुमतिका लागि बाग्लुङ नगरपालिकाको वडा नं ३ वडा कार्यालयले भने उनीहरुलाई गत २१ गते नै सिफारिश बनाइदिएको थियो । तर स्थानीय प्रशासनले लिखु गाउँपालिकाको सिफारिश नभएको भन्दै उनीहरुलाई अनुमति दिएन । लिखु गाउँपालिकाको सिफारिश ल्याएपछि मात्रै अनुमति दिइने त्यहाँको बाग्लुङ प्रशासनले बताएको थियो ।
सिफारिशका लागि अलपत्र युवाहरुले लिखु गाउँपालिकासँग हारगुहार गरे पनि सिफारिश पाउन सकेका छैनन् । 'लिखुका अध्यक्ष अलपत्र परेका नागरिक हाम्रा हुन् भन्ने सिफारिश दिनलाई गृहमन्त्रालयको मुख ताक्दै हुनुहुन्छ रे' पीडित खड्काले भने ।