ओखलढुंगा । नेपाल सरकारले स्थानीय तह/वडा तहसम्म विपद न्युनिकरण गर्न तथा विपदका समयमा राहत÷उद्दार गर्नका लागि विपद व्यवस्थापन ऐन बनाएर विपद व्यवस्थापन समिति गठन गरी काम गर्न निर्देशन दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा समेत विपद व्यवस्थापन सम्वन्धी कुराहरु उल्लेख गरिएको छ । गाउँ/नगरपालिकाहरुले विपद व्यवस्थापन ऐन बनाएर काम गरि रहेका छन् । तर ऐनको पुर्णरुपमा कार्यन्वन भने भएको छैन ।
ऐन बनाएर त्यसको अभिमुखिकरण गरिएमा प्रभावकारी कार्यान्वयन गर्न सजिलो हुन्छ । यस्तै भएको छ, सिद्धिचरण नगरपालिकाको ५ नं वडामा । विपद व्यवस्थापन समिति गठन गरे पश्चात् के–के काम गर्ने, कसरी गर्ने, को–को रहने भन्ने जानकारी नभएपछि यो वडामा विपद व्यवस्थापन समिति नै गठन भएको थिएन । विपद न्युनिकरण सम्वन्धी छलफलका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल ओखलढुंगाका भलामान विकले वडा अध्यक्ष कुलप्रसाद दाहालसँग विभिन्न चरणमा पटक पटक छलफल गरे पनि अन्यौलताका कारण छलफलमा मात्रै सिमित भएको थियो ।
कारण, जवाफ के दिनु पर्ने हो ? विपद व्यवस्थापन समिति गठन भएको छैन । वडाले के जवाफ दिने भन्ने नै थियो । अन्तमा यो अन्यौलता थाहा पाए पछि विपद व्यवस्थापन सम्वन्धी अभिमुखिकरण कार्यक्रम गर्ने र प्रमुख जिल्ला अधिकारी कार्यक्रममा सहभागी हुने भएपछि वडा कार्यालय राजी भयो । साथै सहभागीहरुलाई बोलाइयो ।
२०७६ भदौ १७ गते भएको सो कार्यक्रममा टीआइ नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सहजीकरण गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा विपद भनेको केहो ? यसले कसरी सामान्य जनजिवनलाई असर गर्छ ? यो कसरी आउँछ ? हामीले यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ ? यदि तपाइ हामीले गर्न नसके वडा, नगरपालिका, जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश र केन्द्रले के के गर्न सक्छ र यसको कानुनी प्रावधानहरु के के छन् भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी आचायृले जानकारी गराउनु भएको थियो ।
उक्त जानकारीसँगै विपद व्यवस्थापन समितिका वारेमा उहाँले जानकारी दिनु भयो । जसमा केन्द्रमा, प्रदेशमा, जिल्लामा, स्थानीय तह र वडामा समेत यसको संरचनाको वारेमा जानकारी दिनु भयो । उक्त समिति गठन पश्चात के सजिलो हुन्छ भन्ने वारेमा समेत जानकारी गराउनु भएको थियो । त्यस पश्चात टीआइ नेपालको तर्फबाट सिद्धिचरण नगरपालिकाबाट जारी भएको विपद व्यवस्थापन ऐनको बारेमा जानकारी गराइएको थियो ।
उक्त जानकारी पश्चात नगरपालिकावाट विपद्मा कति रकम व्यवस्था गरिएको छ भन्ने कुराको जानकारी गराइएको थियो । अन्तमा वडा अध्यक्ष कुलप्रसाद दाहालले र सवै सहभागीहरुले विपद व्यवस्थापनको वडास्तरीय समितिको आवश्यकता महसुस गरी विपद व्यवस्थापन समिति गठन गरिएको थियो । अभिमुखीकरण कार्यक्रमले अन्यौलता हटेको र वडास्तरीय विपद व्यवस्थापन समिति गठन गर्न सफल भएकोमा प्रमुख जिल्ला अधिकारीप्रति तथा जानकारी लिने अवसर दिएकोमा टि आइ नेपाल प्रति वडाध्यक्ष दाहालले धन्यवाद समेत दिनु भएको थियो ।